काठमाडौं– कञ्चनपुर सदरमुकाम रहेको महेन्द्रनगरस्थित भीमदत्त नगरपालिकामा नेपाली कांग्रेसले बहुमतसहित जित हासिल गरेको छ।
२०७४ को निर्वाचनमा नेकपा एमालेले जितेको यो नगरपालिकामा अहिले नेपाली कांग्रेसले आफ्नो झण्डा गाडेको हो। नेपाली कांग्रेसले भीमदत्त नगरपालिकामा प्रमुख, उपप्रमुखसहित बहुमत वडा जित्न सफल भएको छ।
यसअघि २०७४ को निर्वाचनमा १६६ को झिनो मतको अन्तरमा पराजित भएका पदम बोगटी अहिले प्रमुखमा निर्वाचित भएका छन्।
आफ्ना प्रतिपस्पर्धीलाई दोब्बर मतको अन्तरले पराजित गरेर उनले प्रमुखमा जित हासिल गरेका हुन्। २०४९ पछि नेपाली कांग्रेसले भीमदत्तमा आफ्नो जित निकालेको हो।
यसअघि २०५४ र २०७४ मा भएको निर्वाचनमा नेकपा एमालेले बहुमतसहित जित हासिल गरेको थियो।
प्रमुखमा निर्वाचित बोगटीले १५ हजार ८८२ मत प्राप्त गरे। नेकपा एमालेका महेश पन्तले ८ हजार १७९ मत प्राप्त गरे भने तेस्रो भएका राप्रपाका उम्मेदवार गजेन्द्र चन्दले ७ हजार १०५ मत प्राप्त गरे।
उपप्रमुखमा पनि नेपाली कांग्रेस नै विजयी भएको छ। नेपाली कांग्रेसकी उम्मेदवार निलम जोशीले १२ हजार २१६ मत प्राप्त गरिन्। दोस्रो भएका नेकपा माओवादी केन्द्रका कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरे।
यसअघिको निर्वाचनमा पनि कांग्रेसले उपप्रमुख भने जितेको थियो। प्रमुखमा निर्वाचित बोगटी नेपाली कांग्रेस कञ्चनपुरका पार्टी सभापति समेत हुन्।
यसअघि उनी नेकपा एमालेका सुरेन्द्र विष्टसँग पराजित भएका थिए। उक्त निर्वाचनमा विष्टले ११ हजार ८३१ मत प्राप्त गरेका थिए भने बोगटीले ११ हजार ६६५ मत प्राप्त गरेका थिए।
२०७४ मा नेपाली कांग्रेसले वडा नम्बर १, ३, ४, ५, ११, १२, १३ गरेर ७ वटा वडा जितेको थियो भने अहिलेको निर्वाचनमा उसले १,२, ३, ४, ५, ६, ८, १०, ११, १२, १५, १६, १७ वडा जितेको छ।
एमालेले २०७४ मा ६, ८, ९, १०, १४, १५, १६, १७, १८ र १९ वडा गरेर १० मा जितेको थियो। तर, अहिले भने एमालेले ७, ९ र १८ नम्बर वडा मात्रै जित्न सक्यो।
नेकपा माओवादी केन्द्रले यसअघिको चुनावमा २ र ७ नम्बर वडा जितेकोमा अहिले १४ र १९ नम्बर वडा जितेको छ। भीमदत्त १३ मा भने स्वतन्त्र उम्मेदवार रामबहादुर बोहरा निर्वाचित भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।