महोत्तरी– महोत्तरीमा सात जना जनप्रतिनिधि दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।
जिल्लाको लोहारपट्टी, भङ्गाहा र मटिहानी नगरपालिकाका प्रमुख यसपटक पुनः दोस्रो कार्यकालका लागि निर्वाचित भए। त्यसैगरी औरही, बलवा र लोहारपट्टिका उपप्रमुख र एकडारा गाउँपालिकाका उपाध्यक्ष पनि दोस्रोपटक निर्वाचित भए।
लोहारपट्टीका यसअघिका प्रमुख, उपप्रमुख दुवै यसपालि दोस्रोपटक निर्वाचित भएका हुन्। प्रमुखमा शैलेन्द्र यादव र उपप्रमुखमा सरिता शर्मालाई यो सफलता प्राप्त भएको छ।
त्यसैगरी, भङ्गाहा र मटिहानीका प्रमुखमा क्रमशः सञ्जीवकुमार साह र हरिप्रसाद मण्डल दोस्रोपटक निर्वाचित भए। २०७४ को स्थानीय तह निर्वाचनमा तत्कालीन तराई मधेस लोकतान्त्रिक पार्टी (तमलोपा) बाट निर्वाचित दुवैजना यसपालि लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) बाट निर्वाचित भएका हुन्।
यस्तै, औरही र बलवा नगरपालिकाका उपप्रमुख क्रमशः रेणु झा र रेखाकुमारी यसपालिसमेत दोस्रोपटक निर्वाचित भए। अघिल्लो निर्वाचनमा तमलोपाबाट निर्वाचित झा र रेखाकुमारी यसपालि लोसपाबाट निर्वाचित भएका हुन्।
अघिल्लो निर्वाचनमा तत्कालीन तमलोपाबाट एकडारा गाउँपालिकामा उपाध्यक्ष निर्वाचित भएकी महजवी खातुन भने यसपालि जनता समाजवादी पार्टी (जसपा) नेपालबाट निर्वाचित भइन्।।
यसअघिका १० प्रमुख/अध्यक्षले यसपटकको निर्वाचनमा पराजित हुनुपर्यो। त्यस्तै, उपप्रमुख/उपाध्यक्षमा एक कार्यकाल बिताएर यसपालि पनि प्रतिस्पर्धाको अवसर पाएका सात जना पनि पराजित भए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।