काठमाडौं– वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनको अन्तिम मतपरिणाम आउने क्रम जारी छ। हालसम्म ७२६ स्थानीय तहको अन्तिम नतिजा सार्वजनिक भएको छ।
पाँच वटा महानगरसहित केही स्थानीय तहमा मतगणना चलिरहेका छ। २ स्थानमा निर्वाचन पुन: गर्ने वा नगर्ने विवादका कारण रोकिएको छ। अहिलेसम्म सार्वजनिक भएको मत परिणाम अनुसार नेपाली कांग्रेस पहिलो दल हुँदै ३२० स्थानमा प्रमुख जितेको छ। त्यस्तै, २९५ स्थानमा उपप्रमुख जितेको छ।
दोस्रो स्थानमा नेकपा एमाले रहेका छ। एमालेले १९७ स्थानमा प्रमुख जितेको छ भने २२८ स्थानमा उपप्रमुख जितेको छ। एमालेले प्रमुखभन्दा उपपप्रमुखमा धेरै जित हात पारेको छ।
तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले १२० स्थानमा प्रमुख जितेको छ। १२६ पालिकामा उपप्रमुख जितेको छ। एमालेबाट विभाजन भएर बनेको नयाँ दल नेकपा एकीकृत समाजवादीले पहिलोपटकमै १७ स्थानमा प्रमुख जित्न सफल भएको छ भने २१ स्थानमा उपप्रमुख जितेको छ।
त्यस्तै, जनता समाजवादी पार्टीले २९ स्थानमा प्रमुख र ३० स्थानमा उपप्रमुख जितेको छ। तराईकेन्द्रित अर्को दल लोकतान्त्रिक समाजवादी पार्टीले १४ स्थानमा प्रमुख र ११ स्थानमा उपप्रमुख जितेको छ। राप्रपाले ४ स्थानमा प्रमुख जितेको छ भने अन्य स्वतन्त्र लगायत दलहरुले २५ स्थानमा जित हात पारेका छन्।
६ महानगरमध्ये विराटनगरको नतिजा सार्वजनिक भइसकेको छ। अन्य पाँच महानगरमा मतगणना अन्तिम अवस्थामा चलिरहेको छ। काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम गरेका छन्। त्यस्तै, ललितपुरमा नेपाली कांग्रेसका चिरिबाबु मर्हजन अगाडि छन्।
भरतपुरमा माओवादीकी रेणु दाहाल, पोखरामा एकीकृत समाजवादीका धनराज आचार्य र वीरगञ्जमा जसपाका राजेशमान सिंहले अग्रता कायम गरिरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।