वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुने क्रममा छ। अब मुस्किलले १० जति पालिकाको नतिजा सार्वजनिक हुन बाँकी छ। सार्वजनिक भइसकेका मतपरिणामहरूले दलहरूको हैसियत स्पष्ट पारेको छ।
२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनबाट सबैभन्दा ठूलो पार्टी बनेको नेकपा एमाले विभाजन भई गठन भएको एकीकृत समाजवादीको अवस्था के होला र त्यसले एमालेको नतिजामा कस्तो असर पर्ला भन्ने चासो सबैतिर थियो। सार्वजनिक भएका मत परिणाम अनुसार एमालेले २०७४ को तुलनामा झन्डै ९० पालिकाको नेतृत्व गुमाउने देखिन्छ।
अर्कोतिर, नेकपा एकीकृत समाजवादीले मंगलबार बिहानसम्म २० वटा पालिकाका नेतृत्व जितिसकेको छ। उपप्रमुख र अन्य पदहरू पनि जितेको छ। कैयौँ ठाउँमा गठबन्धनको आडमा निर्वाचन जितेको भए पनि सो पार्टीले आफ्नो अस्तित्व देखाएको छ।यिनै विषयमा केन्द्रित रहेर नेकपा एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठसँग नेपाल लाइभले गरेको संक्षिप्त कुराकानी:
स्थानीय तह निर्वाचनको परिणामप्रति तपाईंहरूको मूल्यांकन के छ?
गठबन्धनको हिसाबबाट नेकपा एकीकृत समाजवादीको पक्षमा जुन ढंगको परिणाम आएको छ, त्यो सन्तोषजनक होइन। तर, हामीले पार्टी गठन गरेपछि संगठन विस्तारको काम यही चार महिनामा मात्रै गर्यौं। त्यस हिसाबले चाहिँ जनताले हामीलाई जुन खालको साथ र समर्थन दिए। यसले पार्टीप्रति जनताको समर्थन पाएको देखिन्छ। यो सन्तोषजनक छ। गठबन्धनको विषयमा हामी पार्टीभित्र पनि समीक्षा गर्छौँ। गठबन्धनको दलहरूका बीचमा पनि समीक्षा गर्छौँ। त्यसै हिसाबले अगाडि बढ्छौँ।
तपाईंहरूले नेकपा एमालेलाई क्षति मात्रै पुर्याउनुभयो भनेर चर्चा हुने गरेको छ नि?
कसलाई क्षति पुग्यो भन्ने भन्दा पनि, निर्वाचन परिणाम भनेको नेपाली जनताको अभिमत हो। जसले जनविरोधी नीति लिएको छ, लोकतन्त्रविरोधी नीति लिएको छ। जसले देशलाई अध्याँरो सुरुङभित्र फसाउने कोसिस गर्यो। जनताको अभिमतले त्यस्तो नीति लिने र काम गर्नेहरूप्रति वितृष्णा व्यक्त गरेको छ।
जेठ ३ गते प्रतिनिधि सभामा सम्बोधन गर्ने क्रममा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले तपाईंहरूप्रति लक्षित गर्दै 'जनताले उचित ढंगले फैसला गरेका छन्' भन्नुभयो। के तपाईंहरूलाई जनताले सजाय दिएका हुन्?
त्यो सबै त मतपरिणामले देखाइसकेको छ। विभाजन गर्नेहरूलाई जनताले सबक सिकाए भन्ने कुराको त विगत र अहिलेको निर्वाचन परिणाम र अवस्थाले नै प्रष्ट गरेको छ। नेपाली जनताले मुलुकलाई प्रतिगामी दिशामा लैजाने, लोकतन्त्र विरोधी, संविधान समाप्त गर्न चाहने शक्तिलाई समर्थन गरेन। बरु सजाय दियो भन्नेचाहिँ प्रष्ट छ।
एमालेलाई चाहिँ जनताले सजाय दिए भन्न खोज्नुभएको?
एमालेले लिएका नीति, उसको जुन कार्यशैली र व्यवहार छ, जनताले त्यसलाई अस्वीकार गर्यो भन्ने कुरा त प्रष्टै देखियो नि। कुनै महानगरपालिकामा नेकपा एमाले, जहाँ अत्यधिक जनसंख्या छ, बौद्धिक व्यक्तिहरू छन्, त्यहाँको जनमत पूरै एमालेको विरोधमा देखिन्छ। कहीँ पनि जित्न सकेको छैन।
अब गठबन्धन कसरी अगाडि बढ्छ। यसैगरी निरन्तर अगाडि बढ्छ कि बीचमा केही समीक्षा हुन्छ?
हामी चुनावको बीचमा समीक्षा गर्छौँ। कहाँ कमिकमजोरी रह्यो, त्यसलाई समीक्षा गरेर निचोडमा पुग्ने काम हुन्छ। त्यसपछि गठबन्धनलाई थप सुदृढ गरेर जाने काम हुन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।