काठमाडौं- धनुषाको मिथिला नगरपालिका-११ लोटा स्थायी घर भई काठमाडौंको जोरपाटीस्थित माकलबारी बस्दै आएका राजन गोलेले आइतबार बिहान ८ बजे पोखराबाट श्रीमती दीपालाई फोन गरे। उनले आफूहरु जोमसोमका लागि जहाज चढ्न लागेको बताएका थिए। राजनले आमा-बुवा, मामा-माइजुसहित परिवारका सात जनाको सामूहिक तस्बिर पनि श्रीमतीलाई पठाए।
दीपाले जवाफमा 'शुभयात्रा' भनिन्। उनीहरु ९ बजेर ५५ मिनेट जाँदा पोखराबाट जोमसोमका लागि उडे। परिवारका सदस्य पोखराबाट उडेपछि दीपा जोमसोमबाट श्रीमानको फोन आउने पर्खाइमा थिइन्। तर, उनको मोबाइलमा घन्टी बज्नुअघि सवा १० बजेतिर उनले जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन भएको समाचारहरु सामाजिक सञ्जालमा भेटिन्। दीपा आत्तिइन्। हतारहतार मोबाइल निकालिन् र श्रीमानलाई फोन गर्न थालिन्। तर, श्रीमानको माेबाइलमा सम्पर्क हुन सकेन।
विमानमा रहेका परिवारका अन्य सदस्यलाई पनि फोन गरिन्। तर, कसैसँग पनि सम्पर्क हुन सकेन। उनले पोखरादेखि धनुषासम्म रहेका आफन्तलाई फोन गरिन्। फोनमा दिपाले श्रीमान, सासु, ससुरासहितका परिवारका सदस्य जोमसोम हिँडेको विमान हराएको अरुलाई जानकारी गराइन्। उनले यो खबर गर्दासम्म विमान हराएको समाचारहरु छ्याप्छ्याप्ती भइसकेको थियो।
गाडीमा जाने राजनको प्रस्ताव, विमान चढ्ने आमाको रहर
दीपाका श्रीमान् राजनले आमाबुवा लगायतसँग गाडीमा मुस्ताङ जाने प्रस्ताव गरेका थिए। आइतबार बिहान कुरा हुँदा पनि राजनले दिपालाई आफूले गाडीमा जान आमाबुबालाई आग्रह गरेको सुनाएका थिए।
काठमाडौंबाट आफ्नै गाडी मगाउने, अनि त्यसमा जाने प्रस्ताव गरेका थिए। त्यसो नभए पोखराबाटै एउटा गाडी रिजर्भ गरेर भए पनि उनको योजना थियो। तर, आमाबुवाको इच्छा र बेलायतमा रहेका भाइको चाहनामा उनको केही चलेन।
बेलायत रहेका भाइले आमाबुवाको इच्छा अनुसार मुस्ताङ घुमाउन पैसा पठाएका थिए। जहाजमा नै जाने आमाको जोडबल थियो। 'हामीहरुको उमेर गइसक्यो। अब प्लेन चढिन्छ कि चढिदैँन' शोकमा रहेकी दीपाले आँशु पुछ्दै राजनले फोनमा भनेको कुरा सुनाइन्, 'त्यसपछि उहाँले प्लेनमा लिएर जानुभयो।'
राजनले आमा बुवासँग आफूलाई काठमाडौं फर्किनु पर्ने भएकाले पोखराबाट मुक्तिनाथ अरु आफन्तहरुसँग जान आग्रह पनि गरेका थिए। आमाबुवाले छोरासँगै जाने जिद्दी गरेपछि राजनले माकलबारीमा रहेकी श्रीमतीलाई फोन गरेर मुक्तिनाथ जाने कि भनेर सोधेका थिए। तर, दिपाले छोराछोरीको स्कुल चलिरहेकोले आफू नजाने बताइन्। 'तिमी पनि जाने भनेर सोध्नु भएको थियो' उनले भनिनन्, 'छोराछोरीको स्कुल छ, घरमा कोही हुँदैन, म जान्न बरु तपाईं पनि चाडैं फर्कनु भनेको थिएँ।'
राजन र दीपाको अन्तरजातिय प्रेम विवाह भएको थियो। राजन गोले हुन् भने दिपा सुवेदी हुन्। उनीहरुका एक छोरा र छोरी छन्।
श्रीमतीसँगको कुराकानी पछि राजन आमाबुवा, काकाकाकी र मामा माइजुसँगै जोमसोमसम्म जहाजमा गएर मुक्तिनाथ जाने भए। राजनसहित बुबा इन्द्रबहादुर, आमा राममाया, काका पुरुषोत्तम, काकी तुलसादेवी, मामा मकरबहादुर र माइजु सुकुमाया तामाङ तारा एअरको विमानमा मुक्तिनाथको यात्रामा निस्किए।
फेला नपरुन्जेलको आश
आइतबार बिहान विमान वेपत्ता भएको समाचार सार्वजनिक भएसँगै दीपाको आँखा ओभानो छैन। डाँडैडाँडा भएको स्थान, त्यसमा पनि बाक्लो कुहिरो लागेको अवस्था। सिमसिम पानी परिरहेको बेलामा विमान हराएको समाचारहरु आउँदा उनी मुर्छित अवस्थामा पुगिन्।
बेला बेलामा उनी मोबाइल हेर्थिन्। कतै राजनले फोन पो गरिहाल्छन् कि भन्ने आशा मारिसकेकी थिइनन्। आफू पनि बारम्बार राजनसहित परिवारका सदस्यलाई फोन लगाइरहन्थिन्। पाइलटको फोनमा घण्टी गइरहेको समाचारहरु आइरहँदा दीपालाई पनि राजनले फोन गरिहाल्छन् कि भन्ने आशा लागिरह्यो।
तर, सोमबार बिहान उनको आशा समाप्त भयो। जे नहोस् भन्ने थियो, त्यही भयो।

सोमबार बिहान उनका श्रीमान्, सासुससुरा, काकाकाकी, मामा माइजुसहित २२ जना सवार विमान मुस्ताङको थासाङ–२, सानोस्वारको पहाडमा क्षतविक्षत अवस्थामा भेटियो। खोजी तथा उद्धारका लागि गएको नेपाली सेनाको टोली सोमबार बिहान विमान दुर्घटनास्थल पुगेपछि त्यहाँका तस्बिरहरु सार्वजनिक भएका छन्।
केही शवहरु चिनिने अवस्थामा समेत नहरेको जनाइएको छ। जहाजमा सवारमध्ये १६ जना यात्रुको शव भेटिएको छ। अन्यको खोजी भइरहेको उद्धारमा सहभागी सुरक्षाकर्मीले बताएका छन्। तारा एअरले आइतबार बिहान पोखराबाट जोमसोमका लागि उडेको ट्विनअटर विमान साढे १४ हजार फिटको उचाइमा दुर्घटनाग्रस्त भएको जनाएको छ।
एकै परिवारका सात जनाको विमान दुर्घटनामा ज्यान गएको खबरले धनुषासहित माकलबारी क्षेत्र शोकमा डुबेको छ। छरछिमेकी गोले परिवारलाई सान्त्वना दिन घरमा पुगेका छन्। बुवाआमासहित दाइ दुर्घटनामा परेपछि बेलायमा रहेका राजनका भाइ नेपाल आउँदै छन्।
सम्बन्धित समाचार :
क्षतविक्षत अवस्थामा भेटियो विमान, डोरीको सहायताले शव संकलन हुँदै [तस्बिरहरू]
दुर्घटनाग्रस्त अवस्थामा भेटियो तारा एअरको जहाज
तारा एअरले भन्यो–विमान अझै अज्ञात छ, असान्दर्भिक फोटो तथा भिडियो प्रयोग नगरिदिनुहोस्
पुष्टि नहुँदै सामाजिक सञ्जालमा जिम्मेवार व्यक्तिबाट यात्रुलाई श्रद्धाञ्जली!
सम्पर्कविहीन तारा एअरको जहाजमा चालक दलसहित २२ जना थिए सवार
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।