काठमाडौं– काठमाडौंको टेकुस्थित कौसी थिएटरमा नाटक ‘ऐया ! माया’ मञ्चन सुरु भएको छ। सुदाम सिकेको निर्देशनमा बनेको नाटक मंगलबारदेखि मञ्चन भएको हो।
सिकेको निर्देशनमा बनेको यो चौँथो नाटक हो। यसअघि उनको निर्देशनमा ‘च्यातिएको पर्दा’, ‘आन्दोलन’ र ‘पाँच’ मञ्चन भइसकेका छन्। सुरुका दुईवटा नाटक यथार्थपरक शैलीमा बनेका थिए। तीन वर्षअघि मञ्चन भएको नाटक ‘पाँच’ भने शारीरिक प्रयोगात्मक हो।
सिकेको चौंथो नाटक ‘ऐया! माया’मा शरीरसँगै आवाज र संगीतमा पनि नयाँ प्रयोग गरेको उनले जानकारी दिए।
‘कुनै समस्याको समाधान र समाज रुपान्तरण होस् भनेर यो नाटक गर्न लागेको होइन। मलाई अभिव्यक्त गर्न मन लागेको कुरा यसरी भन्न खोजेको हो’, उनले भनेका छन्, ‘हामी सबै सँधै हतारमा हुन्छौं। सँधै केही न केही पाउनका लागि दौडिरहेका हुन्छौं। हरेक दिन ठूला–ठूला घटना भइरहेका हुन्छन्। जसलाई अर्का घटनाले छायाँमा पारिरहेको हुन्छ। यो नाटकमार्फत् हामीले बिर्सिरहेका कुराहरू सम्झाउन मात्र खोजेको हो।’
कथा घेराको प्रस्तुति रहेको नाटकमा अकाश नेपाली, आयान खड्का, पवित्र राई, सरिता कठायत, शिशिर शिवाकोटी र मुक्तिको अभिनय रहेको छ। संगीतमा शिवराज जोशी र शर्मिला गुरुङ रहेका छन् भने प्रकाश परिचालकको रुपमा क्षितिज रहेका छन्।
करिब दुई महिना रिहर्सल भएपछि नाटक तयार भएको निर्देशक सिकेले बताए । मंगलबार प्रिमियर भएको नाटकलाई दर्शकले सकरात्मक प्रतिक्रिया जनाएका छन्।
नाटक असार ३२ सम्म सोमबार र मंगलबारबाहेक हरेक दिन साँझ साढे ५ बजे र शनिबार अतिरिक्त शो दिउँसो २ बजे पनि मञ्चन हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।