फाइल तस्बिर काठमाडौं– नेपालमा कोरोना संक्रमणको दर फेरि बढ्न थालेको छ। सोमबार मात्रै थप १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट ३ हजार १२६ जनाको नमूना परीक्षण गर्दा मंगलबार १७७ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार १ हजार ८०५ जनाको पीसीआर परीक्षण गर्दा १४४ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, १ हजार ३२१ जनाको एन्टिजेन परीक्षण गर्दा ३३ जनामा पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ।
एन्टिजेन परीक्षणको नतिजामा एसएमएस र ईमेलबाट प्राप्त विवरण समेत समावेश गरिएको मन्त्रालयले जानकारी दिएको छ।
थप १७७ जनामा संक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या ८७३ पुगेको छ। २४ घण्टाको अवधिमा ४१ जना संक्रमित संक्रमण मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार २४ घण्टाको अवधिमा कोरोना संक्रमणबाट कसैको मृत्यु भएको विवरण प्राप्त भएको छैन। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९५२ रहेको छ।
पछिल्लो २४ घण्टामा थपिएकामध्ये सबैभन्दा बढी ९० जना काठमाडौं जिल्लाका रहेका मन्त्रालयले जनाएको छ। यस्तै, ललितपुरमा १३, कास्कीमा ८, बाँकेमा ८ जना थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।