काठमाडौं– मण्डला थिएटरमा साउन ६ गतेबाट मञ्चन भइरहेको नाटक ‘खुवालुङ’ थप केही समयलाई चल्ने भएको छ। नाटकको निर्माण पक्षले सार्वजनिक गरेको जानकारीकाअनुसार साउन २९ गतेसम्म तोकिएको नाटकको मञ्चन अवधिलाई भदौ ११ गतेसम्म लम्बाइएको छ।
साउनको सुरुवातबाट मञ्चन भएको यो नाटक किरण चाम्लिङ राईले निर्देशन गरेको नाटक हो। नाटक निर्माण पक्षका अनुसार विभिन्न जाति, भाषा र संस्कारमा बाँचेर रहेको खुवालुङको कथालाई नाटकमा देखाइएको छ।
हालको दूधकोशी, अरुण र तमोर नदीको संगमस्थल त्रिवेणीको जलाशयमा अवस्थित विशाल ढुङ्गालाई मुन्दुमि मान्यता र विश्वासमा खुवालुङको रुपमा मान्ने गरिएको छ।
खुवालुङलाई साक्षी राखेर त्रिवेणीमा मिसिएका नदीहरुको मूल मुहान पछ्याउँदै जाने क्रममा विकास मानव सभ्यताको कथा नै खुवालुङको कथा भएको नाटकको निर्माण पक्षले जनाएको छ। नाटकका लेखक राजन मुकारुङका अनुसार सांस्कृतिक आन्दोलनको निरन्तरताका लागि नाटक कलाकामार्फत् भन्नु, कहनुपर्छ भन्ने जिम्मेवारी महसुस गरिएर यो नाटक लेखिएको हो।
उनले भनेका छन्, ‘खुवालुङका बारे मुन्दुमि, तायामि अग्रज (नाक्छोङ, बिजुवा, पुर्खा)हरुबाट आफूले सुनेका र कतिपय प्राप्त संकलित, प्रकाशित कथा, कहानीहरुका आधारमा ‘साझा मान्यता’लाई मात्रै नाटकमा लेखिएको छ। मिथकमाथि सिर्जनात्मकता थप्ने प्रयास गरिएको छ।’
त्यस्तै, नाटकका निर्देशक किरण चाम्लिङ राईका अनुसार खुवालुङ एउटा ढुंगा मात्रै नभएर यसका प्राकृतिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक महत्वहरु भएकाले त्यसलाई नाटकमा उतार्ने जमर्को गरिएको छ।
नाटकमा पशुपति राई, मानहाङ लावती, इंगि होपो कोइच सुनुवार, समयोग गुरागाईं, सविना थापा, प्रसम्शा सिवाकोटी, बेदना राई, रियर राई, रमिला मोक्तानलगायतका कलाकारको अभिनय छ। नाटकमा प्रयोग भएका दुई गीतहरुको रचना स्वप्निल स्मृति र राजन मुकारुङले गरेका छन्।
नाटक भदौ ११ गतेसम्म सोमबार बाहेक दैनि साँझ ५:१५ मा शुक्रबार तथा शनिबार दिउँसो १ बजेपनि हेर्न सकिनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।