काठमाडौं– दमकको कदम थिएटरमा विश्वप्रसिद्ध अमेरिकी नाटक तथा टिभी सिरिज ‘ट्युभेल एंग्री मेन’ को नेपाली रुपान्तरण नाटक ‘१२ दुर्वासा’ भदौ १० गतेबाट प्रदर्शन हुने भएको छ।
वि.सं. २०७३ मा मण्डला थिएटरलेसमेत यो ‘ट्युभेल एंग्री मेन’ को नेपाली रुपान्तरण नाटक पस्किसकेको छ। यो नाटक विश्वका धेरै मुलुकका मञ्चमा मञ्चन भइसकेको छ।
नाटकमा जम्मा १४ जना कलाकार रहने छन्, जसमा दमकको रंगमञ्चिय क्रियाकलापलाई मजबुत बनाउन वरिष्ठ कलाकार, चलचित्रकर्मी तथा रंगकर्मी हेमन्त बुढाथोकी कलाकारको भूमिकामा देखिनेछन्।
साथै विगत् १८ वर्षदेखि नियमित कलाकारिता तथा नाट्य निर्देशन गरिरहहेका कलाकारहरु जीवन बराल, मौषम राना, तिब्बत राई, सुवास खरेल, बलु राई तथा सुवास खरेलको पनि भूमिका रहेको छ।
नाटकमा ५ जना कलाकार भने विभिन्न पेशाका व्यक्तित्वहरु छन्। जसमध्ये रोमनाथ ओली दमक नगरपालिकाका निवर्तमान मेयर, आस्था कलेजका प्रोफेसर राजेन्द्र अधिकारी, सामाजिक राजनीतिक अभियानता सन्तोष दुलाल, पत्रकार चिरन्जिवी घिमिरे तथा साहित्यकार सुमन लिङ्देन पनि कलाकारको भूमिकामा देखिएका छन्।
कदम थिएटरका पूर्णकालीन कलाकारहरु मनिकशंकर, सुजन भण्डारी र नवीन रिजाल पनि यस नाटकमा रहेका छन्। ‘लोकतान्त्रिक अभ्यासमा सबैलाई विचारको स्वतन्त्रता प्रदान गरिन्छ, विचारको सम्मान पनि गरिन्छ तर बहुमत नै सही हुन्छ भन्ने धारणा साथ बहुमतको निर्णय मान्ने गरिन्छ’, यो नाटकले भने सर्वसम्मतिमा निर्णय खोज्छ ।
नाटकमा एउटा छोराले आफ्नै बुबालाई मारेको हो वा होइन भन्ने एकै प्रश्नमा केन्द्रित छ। अदालतले यो विषयमा निर्णय गर्न गाह्रो भएर वा विशेष कारणवश केही गम्भीर शंका देखेर फरक पेशाका १२ जना आमनागरिकलाई त्यस मुद्दामा छलफल गर्न लगाएर, उनीहरुको सर्वसम्मतिबाट जे निर्णय हुन्छ त्यो नै अन्तिम निर्णय हुनेगरी १२ जनालाई एक कोठामा छलफलका निम्ति छाडिन्छ।
नाटक यहि पृष्ठभूमिबाट सुरु भएको छ। १२ जनाले सर्वसम्मतिमा नै निर्णय गर्नु परेकाले १२ जनाको विचारको बीचमा भएको संघर्षको कथा ‘१२ दुर्वासा’ भएको नाटकको निर्माण पक्षले जनाएको छ।
रेग्नाल्ड रोजको मुलकथाको नेपाली रुपान्तरण सुरेश सापकोटाले गरेका हुन् भने यो नाटकको परिकल्पना र निर्देशन सिजन दाहालले गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।