काठमाडौं– मनास्लु हिमालबाट फर्कने क्रममा हिउँमा चिप्लिएर हराएकी विश्व प्रख्यात स्की पर्वतारोही हिलारी नेल्सनको शव भेटिएको छ। उनी यही असोज १० गतेदेखि मनास्लुमा हिमालमा हराएकी थिइन्।
विश्वको आठौं अग्लो चुचुरोबाट ओर्लने क्रममा खसेर बेपत्ता भएकी स्कीको शव भेटिएको काठमाडौंस्थित साङ्ग्रिला नेपाल ट्रेकका जीवन घिमिरेले नेपाल लाइभलाई बताए।
४९ वर्षीया हिलारी नेल्सन आफ्ना श्रीमान् जिम मोरिसनसँग मनास्लुको २६ हजार ७८१ फिट अग्लो शिखरबाट स्कीइङ गर्दैगर्दा उनी खसेको घिमिरेले बताए।
‘उनको शव बेस क्याम्पबाट साना गाउँ ल्याएर पुलिस रिपोर्ट बनाउने काम हुँदै छ’, घिमिरेले भने, ‘यहाँबाट केही समयमा उनको शव काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा लैजाने तयारी भएको छ।’
को हुन् नेल्सन?
नेल्सनले विगत दुई दशकमा करिब ४० वटा हिमाल आरोहण गरिसकेकी छन्। उनको प्रायोजकमध्येको एक कम्पनी नर्थ फेसले ‘उनको पुस्ताको सबैभन्दा उत्कृष्ट स्की पर्वतारोही’को उपमा दिएको छ।
टेलुराइड, कोलोका निवासी, नेल्सन सिएटलमा हुर्केकी थिइन्। उनी युरोपको सबैभन्दा अग्लो हिमाल मोन्ट ब्लाङ्कको फेदमा रहेको फ्रान्सेली सहर चामोनिक्सको भ्रमण गरेपछि स्की पर्वतारोहणमा संलग्न भइन्।
२०१२ मा उनी विश्वका दुई अग्लो हिमाल, सगरमाथा र छिमेकी माउन्ट ल्होत्से २४ घण्टामा आरोहण गर्ने पहिलो महिला बनिन्।
उनी र मोरिसन उक्त क्षेत्रमा फर्किए र विश्वको चौंथो अग्लो हिमाल ल्होत्सेको २७ हजार ९४० फिट माथिबाट स्की गर्ने पहिलो व्यक्ति बने। नेल्सनलाई युवा महिला पर्वतारोहीहरूलाई प्रेरणा दिने श्रेय पनि दिइन्छ। उनका दुई सन्तान छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।