दोहा– विश्वकपको सबैभन्दा स्तब्ध पार्ने नतिजा निकालेको साउदी अरेबियाको जितलाई लिएर विवाद सुरु भएको छ। मंगलबार अर्जेन्टिनाविरूद्धको खेलमा साउदी २–१ ले विजयी भएको थियो।
अर्जेन्टिनाले लिओनल मेसीको पेनाल्टी गोलको सहयोगले खेल सुरु भएको १० मिनेटमै अग्रता बनाएको थियो। तर, साउदीले दोस्रो हाफमा दुई गोल फर्काउँदै खेललाई आफ्नो पक्षमा पार्यो। साउदीका लागि सालेह अल–सेहारी र कप्तान सालेम अल–दाउसारीले ४ मिनेटको फरकमा दुई गोल फर्काएका थिए।
यो खेलको विवाद भनेको भिडिओ असिस्टेन्ट रेफ्री (भार)को निर्णयलाई लिएर हो। अर्जेन्टिनाले पहिलो हाफमा गरेको ३ गोललाई भारको सहयोगले रेफ्रीले अफसाइड बताएका थिए। तर, अहिले खेलको २८ मिनेटमा इन्टर मिलानका अर्जेन्टिनी स्टार लाउतारो मार्टिनेजले गरेको गोललाई भारले अफसाइड दिएको निर्णयमा विवाद सुरु भएको छ।
1669266504.png)
उनको यो गोललाई मैदानमा रहेका लाइन्सम्यानले सदर गरेका थिए। तर, रेफ्रीले भिडियो रिप्लेको निर्णय माग गर्दा भारले अस्वीकार गरेको थियो। पापु गोमेजको थ्रु पासमा मार्टिनेजले बललाई नियन्त्रणमा लिँदा मार्टिनेजको शरीर उनलाई मार्क गरिरहेका साउदी डिफेन्डरभन्दा अगाडि रहेको भारको निष्कर्ष थियो। तर, भारको आधिकारीक जिम्मेवारी बहन गरेका अब्देल्हाक इचियालीले मुख्य मार्करको रूपमा रहेका ‘मेन डिफेन्स’ यासिर अल साहरानीको पोजिसनलाई वेवास्था गरेको देखिएको छ। उनी मार्टिनेजभन्दा भित्रै भएको अर्को फुटेजमा देखिएको छ।
यो निर्णयसँगै फिफाले लागू गरेको भारको नियम विवादमा परेको छ। यो गोलको स्वीकृति अर्जेन्टिनाले पाएको भए पहिलो हाफमै मेसीको टोलीले २–० को अग्रता लिने र खेलको नतिजा अर्कै हुने भन्दै युरोपेली मिडियाले फिफाको आलोचना गरेका छन्।
अर्जेन्टिनाको पराजयपछि पत्रकार सम्मेलनमा प्रशिक्षक स्कालोनीले भनेका थिए, ‘हारको कारण मिलिमेट्रिक थियो। उनीहरूसँग उच्च रक्षात्मक लाइन थियो। त्यसैले हामीलाई थाहा थियो, कुनै पनि गोलको परिस्थिति हाम्रो पक्षमा वा विरूद्धमा जानेछ। यो अवस्थामा अर्ध–स्वचालित अफसाइड टेक्नोलोजी (भार) ले हामीबाट एक गोल हटायो। यस्तै हो, हामी हाम्रा प्रतिद्वन्द्वीलाई बधाई दिन्छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।