पाकिस्तान– पाकिस्तानको बलूचिस्तान प्रान्तको राजधानी क्वेटाका सरदार हाजी जान मोहम्मदले आफ्नो परिवारमा आइतबार ६०औं सन्तानले जन्म लिएको बताएका छन्।
बीबीसँगको कुराकानीमा उनले पाँच सन्तान बितिसकेको बताउँदै अब ५५ सन्तान जिवित रहेको जानकारी दिए। यति धेरै सन्तान जन्मिए पनि आफू नरोकिने उनको भनाइ छ। ‘यदि अल्लाहको इच्छा भयो भने अरु सन्तान पनि जन्म’, उनी भन्छन्।
५० वर्षीय सरदार जान मोहम्मद खान खिलजी क्वेटा सहरको इस्टर्न बाइपास नजिकै बस्छन्। उनी पेशाले चिकित्सक हुन्। उक्त क्षेत्रमा उनको क्लीनिक पनि छ।
हाजीले भने, ‘छोराको रुपमा यो मेरो ६० औं सन्तानले जन्म लिएको छ।’ उनले छोराको नाम खुशहाल खान राखेका छन्।
उनका अनुसार खुशहाल खानकी आमालाई उनी जन्मिनुअघि उमरामा लिएर गएका थिए। यसै कारण पनि ६० औं सन्तानको नाम हाजी खुशहाल खान राखेका हुन्।
पाकिस्तान विश्वका ८ ती देशमा पर्दछ, जो सन् २०५० सम्म विश्वको कूल जनसंख्यामा ५० प्रतिशतसम्म वृद्धिमा योगदान दिनेछन्।
संयुक्त राष्ट्रसंघद्वारा जारी तथ्यांक अनुसार १९६० को दशकदेखि विश्वभर जनसंख्या घट्दो क्रममा रहेको छ। यो दर २०२० मा पनि जारी रह्यो। पाकिस्तानमा भने २०२० मा जनसंख्या वृद्धिदर १ दशमलव ९ प्रतिशत थियो।
चौथो विवाहका लागि महिलाको खोजी
सरदार जान मोहम्मद चौथो विवाह गर्न चाहन्छन्। उनी चौथो विवाहका लागि महिला खोजीरहेका छन्। उनले भने, ‘मैले मेरा सबै साथीहरुलाई चौथो विवाहका लागि महिला खोज्न भनेको छु। उमेर ढल्किँदै छ। त्यसैले छिट्टै चौथो विवाह गर्न चाहन्छु।’
उनले धेरै सन्तान जन्माउनु आफ्नो मात्र इच्छा नभएको बताएका छन्। आफ्नी पत्नीहरुले पनि धेरै सन्तान जन्माउन चाहेको उनको भनाइ छ। उनको घरमा छोराको तुलनामा छोरीको संख्या धेरै छन्।
उनका केही सन्तानको उमेर त २० वर्षभन्दा माथि छ। तर तीमध्ये अहिलेसम्म कसैको विवाह भएको छैन। उनीहरु अहिले पढिरहेका छन्।
उनले क्लीनिकबाटै आफ्नो घरखर्च चलाइरहेका छन्। क्लीनिकबाहेक अन्य कुनै आर्जनको माध्यम छैन। महंगी बढ्दै गएपछि बालबच्चाको खर्च जुटाउन समस्या भइरहेको उनले बताए।
उनी भन्छन्, ‘कारोबार ठप्प भइसकेको छ। आटा, घ्यू र चिनिसहित सबै वस्तुको मूल्य तीन गुणासम्म पुगेको छ। पछिल्लो वर्ष पूरै विश्वका साथै पाकिस्तानी जनताले अभावको सामना गरे। त्यसमा म पनि हुँ।’
आफ्ना बालबच्चालाई हरदम खुशी राख्ने प्रयास गरिरहेको उनको भनाइ छ। सन्तानलाई पढाउन पनि उनले निकै खर्च गरिरहेका छन्। उनले बालबालिकाको खर्चका लागि अहिलेसम्म कसैसँग सहयोग मागेका छैनन्। तर सरकारले भने नागरिकका रुपमा आफ्ना सन्तानलाई सम्पूर्ण अधिकार दिनुपर्ने उनको भनाइ छ।
सरदार जान मोहम्मद आफैं घुम्नका लागि शौखिन हुन्। उनी आफ्ना सबै सन्तानलाई पूरा पाकिस्तान घुमाउन चाहन्छन्। पहिला थोरै सन्तान हुँदा घुमाउन लैजान्थे पनि। अब यति धेरै बालबच्चालाई कारमा राखेर घुमाउन सम्भव छैन। सरकारले आफ्ना सन्तानलाई घुमाउनका लागि सहयोग गर्नुपर्ने उनको अपेक्षा छ।
उनी भन्छन्, ‘यदि सरकारले मलाई एउटा बस दियो भने म सबै बच्चालाई लिएर सहजै पाकिस्तान घुमाउन सक्छु।’ कैयौं बच्चाका पिताका रुपमा चर्चा पाउनेमध्ये सरदार जान मोहम्मद बलुचिस्तानका दोस्रो व्यक्ति हुन्।
यसअघि अब्दुल मजीद मेंगलको नाम थियो। बलुचिस्तानका अब्दुलले ६ विवाह गरेका थिए। ६ जना पत्नीबाट उनका ५४ सन्तान जन्मिएका थिए। अब्दुलको ७५ वर्षको उमेरमा निधन भएको थियो। दुई पत्नी र १२ सन्तान त अब्दुल जिवित रहँदै बितेका थिए।
बीबीसी हिन्दीका लागि मोहम्मद काजिमले तयार पारेको विशेष रिपोर्टको अनुवाद
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।