काठमाडौं– ‘सरकारी अस्पताल र सामुदायिक विद्यालयको स्तर किन खस्कियो? प्रविधिको यति धेरै विकास भइसक्दा पनि सरकारी अस्पतालम नाम दर्ता गर्न समेत किन घण्टौसम्म कुर्नु पर्दछ?,’ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार संसदमा प्रश्न गरे, ‘सरकारी अस्पतालमा सामान्य शल्यक्रिया गराउन पनि तीन/चार महिना किन कुर्नुपर्ने गरेको हो?’
संसद्मा प्रधानमन्त्री दाहालको सम्बोधन चल्दै गर्दा मंगलबार नै वीर अस्पतालमा भने बिरामीले शल्यक्रियाका लागि २०८० कात्तिक ९ गतेको पालो पाएका छन्। वीर अस्पतालको युरोलोजी विभागमा उपचारका लागि पुगेकी ४५ वर्षीया एक महिलाले मिर्गौलाको पत्थरीको उपचारका लागि आगामी कात्तिक ९ गते पालो पाएकी हुन्।
युरोलोजी विभागका चिकित्सकले ती महिलालाई कात्तिक ५ गते अस्पतालमा सम्पर्क गरी ७ गते भर्ना भएर ९ गते शल्यक्रिया हुने जानकारी दिएर पठाएका छन्। ती महिलाले मिर्गौलाको पत्थरीको शल्यक्रियाका लागि १० महिना कुर्नुपर्ने अस्पतालको रेकर्डमै देखिन्छ।
युरोलोजी विभागका प्रमुख प्राडा रविनबहादुर बस्नेतका अनुसार ती महिलाको मिर्गौलाको तल्लो भागमा पत्थरी छ। जसलाई आकस्मिक उपचारको अवस्था मानिँदैन।
पहिला नै पालो कुरेका बिरामी अरु पनि भएकाले ती महिलाका लागि २०८० को कात्तिक ९ गतेको पालो दिइएको हो। त्योभन्दा अघि शल्यक्रियाको पालो नै छैन। अब नयाँ आउने बिरामीले त्यसपछिको पालो पाउँछन्।
ती महिला मात्र होइन, अन्य बिरामीले पनि शल्यक्रियाका लागि महिनौं पालो पर्खिनुपर्ने अवस्था छ। वीर अस्पतालको युरोलोजी विभागजस्तै अन्य विभागहरुमा पनि यस्तै पालो कुर्नुपर्ने अवस्था छ।
शल्यक्रियाका लागि ९–१० महिना पालोमा रहेका बिरामीको विवरण र फोन नम्बर राखेर अस्पतालले पालो आएपछि सम्पर्क गर्दै आएको छ। यो समस्या वीर अस्पतालमा मात्र होइन त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज, कान्ति बाल अस्पताल, पाटन अस्पताल, गंगालाल लगायतका सबै ठूला अस्पतालमा छ। केन्द्रीय अस्पतालहरुमा बिरामीले शल्यक्रिया सेवाका लागि महिनौं पालो कुरिरहेको अस्पतालको रेकर्डले देखाउँछ।
बिरामीले ओपिडीदेखि शल्यक्रियासम्म एकदिन देखि एकवर्षमा पालो कुर्नुपर्ने अवस्था त्रिवि शिक्षण अस्पतालमा पनि रहेको अस्पतालका सूचना अधिकारी राम विक्रम अधिकारीले बताए।
‘बिरामीले एक दिनदेखि एकवर्षसम्म पालो कुर्नुपर्ने अवस्था छ,’ उनले भने, ‘न्युरो सर्जरी, युरो सर्जरी, इएनटीमा बिरामीले धेरै समय पालो कुर्नुपर्ने अवस्था देखिएको छ।’ उनका अनुसार त्रिवि शिक्षण अस्पतालमा सबैभन्दा धेरै समय नाक, कान तथा घाँटी विभागमा शल्यक्रियाका लागि कुर्नुपर्ने हुन्छ।
‘अहिले आइरहेका बिरामीलाई सर्जरीका लागि अर्को वर्षको क्यालेन्डर नै पल्टाएर मिति तय गर्नुपर्ने अवस्था छ’ उनले भने। त्रिवि शिक्षण अस्पतालको उपकरण तथा पूर्वाधार, जनशक्ति र आर्थिक सहयोगका लागि सरकारले वेवास्ता गर्ने गरेको सूचना अधिकारी अधिकारीले जानकारी दिए।
अस्पतालले आफ्नै आम्दानीको भरमा सेवा सञ्चालन गर्नुपर्ने हुँदा सिमित स्रोत साधन र जनशक्तिले बिरामीको चाप समयमै व्यवस्थापन गर्न असम्भव रहेको उनले बताए।
शल्यक्रिया बाहेकको सेवामा पनि लामो लाइन
सरकारले जुनसुकै सरकारी सेवाका लागि पुग्ने सेवाग्राहीले लाइनमा बस्नुपर्ने बाध्यता हटाउन निर्देशन दिइसकेको छ। तर सरकारी अस्पतालहरुमा बिहान ८ बजेदेखि नै उपचारका लागि टोकन लिनदेखि टिकट लिन र विशेषज्ञ चिकित्सकको उपचार र परामर्श लिन तथा ल्याब टेष्टहरु गराउन र अस्पतालको र्फामेसीमा औषधि लिन पनि लामो समय पालो नै कुनुपर्ने अवस्था छ।
‘अहिलेकै जनशक्ति र पूर्वाधारमा पालो कुर्ने अवस्था हटाउन सकिँदैन’ वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भूपेन्द्र बस्नेत अहिलेकै जनशक्ति र पूर्वाधारका आधारमा उपचारका लागि बिरामीले पालो कुर्नुपर्ने अवस्था हटाउन सम्भव नै नभएको बताउँछन्।
‘उभिनुपर्ने अवस्था हटाउन सकिन्छ तर लाइन नै त हटाउन सकिँदैन,’ उनी भन्छन्, ‘अस्पतालको क्षमता भन्दा धेरै बिरामी आउनुहुन्छ। धेरै बिरामी हुँदा लाइन बस्नुपर्ने बाध्यता त हुन्छ।’
सर्जरीमा महिनौं कुर्नुपर्ने बाध्यता हटाउन सम्भव छ?
‘मैले सचिवज्युहरुलाई भनिसकेको छु। सेवा प्रवाहलाई सहज र विकासको गतिलाई तिव्र बनाउन नीतिगत समस्या समाधानको जिम्मा म लिन्छु। तर नतिजामुखी कार्यसम्पादनको जिम्मा तपाईंहरुले लिनुपर्दछ,’ प्रधानमन्त्री दाहालले मंगलबार नै दिएको अर्को अभिव्यक्ति हो यो।
तर सरकारी अस्पतालहरुमा देखिएको अवस्थाले भने सरकारले समस्या समाधानको जिम्मा लिएजस्तो देखिँदैन। अस्पतालका चिकित्सकहरुका अनुसार जनशक्ति, उपकरण लगायतका पूर्वाधारहरुको पर्याप्त व्यवस्था नभएका कारण नै महिनौं कुर्नुपर्ने अवस्था आएको हो।
वीर अस्पतालका युरोलोजी विभागका प्रमुख एव प्रमुख कन्सल्टेन्ट युरोसर्जन डा रविन बहादुर बस्नेत वीर अस्पतालमा बिरामीले शल्यक्रियाका लागि महिनौं पालो कुनुपर्ने अवस्थाको थुप्रै कारणहरु भएको बताउँछन्।
उनले देखेको मुख्य कारण हो– वीर अस्पताल जस्तै कम शुल्कमा विशिष्टकृत सेवा दिने अस्पताल प्रदेशहरुमा सञ्चालन नहुनु। डा बस्नेत भन्छन्, ‘वीर अस्पतालमा जस्तै विशिष्टकृत सेवा यहीको जस्तो शुल्कमा सबै प्रदेशमा दिने हो भने वीर अस्पतालमा मात्र बिरामीको चाप हुँदैन। अनि बल्ल बिरामीले पालो कुनुपर्ने अवस्था हुँदैन।’
सामान्यदेखि आकस्मिक अवस्थासम्मका बिरामीहरु उपचारका लागि वीर अस्पतालमै आइपुग्ने हुँदा युरोलोजी विभागले बिरामीहरुको स्वास्थ्य अवस्थालाई तीन प्रकारमा विभाजन गरेर सोही अनुसार पालो तोकिदिने गरेको डा बस्नेतले सुनाए।
उनका अनुसार युरो सर्जरी विभागमा आउने बिरामीलाई आकस्मिक, सेमि आकस्मिक र सामान्य गरी तीन प्रकारमा विभाजन गरेर सोही अनुसार बिरामीको अस्वस्थताको अवस्था अनुसार शल्यक्रियाका लागि पालो दिइने गरिन्छ।
सरकारले सबै प्रदेशमा भौतिक पूर्वाधार, जनशक्ति, उपकरण सहित सेवा विस्तार गरेर जनतालाई घर नजिकको अस्पतालमा गुणस्तरीय सेवाको विश्वास जगाउन पनि आवश्यक रहेको उनको भनाइ छ।
‘काठमाडौं बाहिर पनि जनरल सर्जनले युरोलोजी सर्भिस दिइरहेको हुन्छ। अर्को अहिले धेरैजस्तो ठूला सहरहरुमा युरोलोजी सर्भिस पुगेको छ,’ उनले भने, ‘प्रादेशिक अस्पतालहरुमा वीर अस्पताललाई जस्तै सेवासुविधा र उपकरण दिएर जनतामा विश्वास जगाउनुपर्छ।’
डा बस्नेतले उपचार प्रादेशिक अस्पताल तथा मेडिकल कलेजहरुमा पर्याप्त जनशक्ति, प्रविधि तथा उपकरण र सस्तो सेवा उपलब्ध भएमा वीर अस्पतालमा बिरामीको चाप ७५ प्रतिशत कम हुने बताए।
‘हामीलाई लोड बढी भयो र विशिष्टकृत अस्पतालको रुपमा जुन सेवा दिनुपर्ने हो हाम्रो त्यसमा चाँही समस्या भयो। जसलाई विशिष्टकृत सेवा चाहिएको छ त्यो बिरामीले पनि कुर्नुपर्ने अवस्था भयो,’ उनले भने, प्रादेशिक अस्पतालहरु स्तरउन्नति गर्यो भने धेरै समस्या समाधान हुन्छ।’ अस्पतालमा लाइन बसेर सेवा लिनुपर्ने तथा महिनौं पालो कुरेर शल्यक्रिया गर्नुपर्ने अवस्था हटाउन सरकारले चाहेमा असम्भव भने नभएको डा बस्नेतले बताए।
‘सरकारले भनेको जस्तो अस्पतालमा सेवा लिनेको लाइन हटाउन असम्भव छैन। तर सम्भव हुन निर्देशन दिएर भोलिदेखि हटाउ भनेर मात्र हुँदैन’ उनले भने, ‘सरकारले पहिला काठमाडौं बाहिरका सरकारी अस्पतालको स्तरोन्नती गर्नुपर्यो। जनतामा घर नजिकको अस्पतालमा विश्वास जगाउने काम सरकारले गर्नुपर्यो।’
वीर अस्पतालका प्रमुख कार्यकारी अधिकारी डा भुपेन्द्र बस्नेत पनि हाल अस्पतालमा भएको जनशक्ति, भौतिक पूर्वाधारबाट शल्यक्रिया सेवामा बिरामीले महिनौं कुनुपर्ने बाध्यताको अन्त्य हुन नसक्ने बताउँछन्।
उनी भन्छन्, ‘सर्जिकल भवन पूर्ण रुपमा चलेपछि ४ महिना कुर्नुपर्ने अवस्था कम भएर २ महिना हुन सक्छ, तर आजको भोलि नै त, अहिलेको जनशक्ति र भौतिक पूर्वाधारले सम्भव छैन। सरकारले भौतिक पूर्वाधार, जनशक्ति उपकरण सबैको व्यवस्था गर्नुपर्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।