काठमाडौं- प्रकाश सपुतको ‘सकम्बरी’को चर्चा भइरहेको छ। एक महत्वाकांक्षी युवतीले चर्चा र पैसाका लागि अपनाएको छोटो बाटोलाई लिएर सपुतले उक्त गीत बनाएका छन्। उक्त गीतको विरोध र समर्थनले सामाजिक सञ्जाल तातेको छ। त्यसको असर युट्युब भ्युजमा पर्नु स्वभाविक हो।
‘सकम्बरी’ सार्वजनिक हुनु केही दिनअघि मात्रै उर्गेन दोङको ‘मै झुटो’ सार्वजनिक भएको हो। जसको बजार चर्चा छैन। स्रोता दर्शकले मन पराइरहेको उक्त गीत गुपचुपमै हिट भइरहेको छ।
सार्वजनिक भएको जम्मा १३ दिनमा युट्युबमा हेर्नेको संख्या ३६ लाख कटिसकेको छ। गीत कर्णप्रिय मात्रै होइन, सन्देशमुलक छ।
उक्त गीतले ‘सकम्बरी’ हेरेर तथा सुनेर चित्त दुखेकाहरुलाई मल्हम लगाउन सक्ने सम्भावना छ । किनभने सकम्बरीले महिलामाथि प्रश्न गरेको छ भने ‘मै झुटो’मा पुरुषको आत्मस्वीकृति छ।
एउटा वियोगी जोडीको कथा भनिएको छ। वियोगका कारण महिला नभई पुरुष आफैं रहेको उर्गेनले गीतमार्फत प्रस्तुत गरेका छन्।
उनी गीतमा भन्छन् :
ए सानु, मेरै गल्ती भो धेरै
मै झुटो, तिमी सही थियौ है
तिम्रो मन धेरै दुख्यो होला है
कति एक्लै रोयौ होला खै
घरबार भाँडिइसकेपछि पुरुषले गर्ने पश्चाताप गीत र भिडियोको मुल थिम हो। आफ्नो कुलतले आजित भएर टाढिएको कुरा गीतमार्फत बुनेका छन्। सहनसम्म सहेर नसकेपछि टाढिँदा समेत प्रेम गरिरहेको कुरालाई उनले सुन्दर शैलीबाट पस्केका छन्।
गीतमा तामाङ भाषालाई पनि मिसाउने आफ्नो शैलीको निरन्तरता उर्गेनले यो गीतमा दिएका छन्। उनी आफ्नै शब्द र संगीतको गीतको गायनमा अनु चौधरीले स्वर थपेकी छिन्।
विजय दोङको निर्देशन रहेको भीडियोले गीतलाई न्याय गरेको छ। मनछुने मेलोडीसँगै आँखा रसाउने दृष्यहरु उक्त म्युजिक भिडियोमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।