काठमाडौं–सिजन २०२३/२४ सुरु हुनु अघिसम्म फुटबल विश्लेषकहरु गिरोनाको अहिलेको चमत्कारबारे अड्कलसम्म काट्न सकेका थिएनन्। सिजन २०२३/२४ को ला–लिगाको उपाधि जित्नेहरुको सूचीमा बार्सिलोना, रियल मड्रिड, एथ्लेटिको मड्रिड, सेभिल्लालाई क्रमश टप चार राख्दै विश्लेषण गरिएको थियो।
तर फुटबल विज्ञहरुको गरेको उक्त विश्लेषणलाई फ्लप खुवाउने गरी अहिले गिरोनाले ला–लिगामा चमत्कार गरेको छ। आफ्नो इतिहासमै अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट सुरुवात गर्दै गिरोनाले आफूलाई उपाधी दाबेदारमा राखेको छ।
ला–लिगाका १३ खेल सकिँदासम्म गिरोनाले रियल मड्रिड, बार्सिलोना, एथ्लेटिको मड्रिडलाई पछि पार्दै अंक तालिको शीर्ष स्थानमा छ। नोभेम्बरमा ४ तारेखमा ओसासुनालाई उसकै घरेलु मैदानमा ४–२ ले हराउँदै गिरोना लिगको शीर्ष स्थानमा उक्लिएको थियो।
२–१ गोलले पछि परेको स्थितलाई उल्टाएर उत्कृष्ट कमब्याक गर्दै गिरोनाले ओसासुनालाई ४–२ ले हराएको थियो। त्यसपछिको अर्को १३ खेलमा नोभेम्बर ११ तारेखमा पनि गिरोनाले पछि परेको स्थितीलाई उल्टाएर जित निकाल्यो। खेलको ५ मिनेटमै भाल्कानोले गिरोनाविरुद्ध गोल गर्दै अग्रता लिएको थियो। तर उत्कृष्ट कमब्याक गर्दै २ गोल गरेपछि खेल गिरोनाले जित्यो।
आफूले खेलेका १३ खेलमा अहिलेसम्म १ खेलमा रियल मड्रिडमा मात्रै गिरोनाले हार ब्यहोरेको छ भने रियल सोसिडाडसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो। बाँकी खेलमा भने गिरोनाले शतप्रतिशत नतिजा निकाल्दै प्रभावशाली सुरुवात गरेको छ।
गिरोनाको यो सफलताको आर्टिटेक्चरको रुपमा मुख्य प्रशिक्षक मिचेल उर्फ मिगुएल एन्जल सान्चेन मुनोजलाई लिइन्छ। मड्रिडका ४७ वर्षीय प्रशिक्षक मिचेलको आक्रामक फुटबल खेलाउने शैलीलाई गिरोनाको सफलतासँग जोडिएको छ।
अक्टोबर २२ मा अल्मारियासँगको खेल प्रशिक्षक मिचेकालाई १०० औं खेल थियो। जसमा मिचेलले ४७ जित, २० बराबरी र ३३ हारको रेकर्ड राखेका थिए। अहिले भने उनले आफ्नो प्रशिक्षकत्वमा १०४ खेल खेलाइसकेका छन्। जसमा ५१ मा जित, २० मा बराबरी र ३३ हारको रेकर्ड राखेका छन्। उनका लागि ला–लिगाको जितको प्रतिशत हिसाब गर्ने हो भने करिब ५० प्रतिशतको छ। गिरोनाको क्लबको इतिहासमा यो अहिलेसम्मकै उत्कृष्ट नतिजा हो।

मिचेलले यो सफलतालाई सामान्य रुपमा भने लिएका छैनन्। उनले यसअघि स्पेनिस फुटबलको शीर्ष डीभिजनमा रायो भाल्कानोका र हुएस्काको प्रशिक्षक भएर काम गरेका थिए। उनको कोचिङ करिअर नै यी दुई क्लबबाट भएको थियो।
तर यी दुबै क्लब उनको प्रशिक्षकत्वम रेलिगेशमासमेत परेका थिए। र मिचेललाई दुबै क्लबले बर्खास्त समेत गरेका थिए। यसअघि दुई वटा क्लबमा प्रशिक्षक भएर काम गरेका र दुबैमा बर्खास्त परेका उनै मिचेल अहिले गिरोनामा आएर चमत्कार गरिरहेका छन्। एस्टाडी मोन्टिलिभी (गिरोनाको रंगशाला) मा मिचेल उत्रिएपछि धेरै सुधार भयो।
मिचेलको प्रशिक्षणमा २०२१/२२ मा गिरोना सेगुन्डा डिभिजनमा छैटौं स्थानमा रह्यो। सेगुन्डा डिभिजनका टप ३ क्लबहरु ला–लिगामा बढुवा हुन्छन् भने टप ६ मध्ये अन्तिमका ३ क्लबले ला–लिगा खेल्नका लागि प्लेअफ खेल्ने मौका पाउँछन्। छैटौं स्थानमा रहँदै सेगुण्डा डिभिजन टुंग्याएको गिरोनालाई प्अफमार्फत मिचेलले ला–लिगामा बढुवा गराए।
त्यसपछिको गत सिजन मिचेलले ला–लिगाको १० औं स्थानमा राख्दै गिरोनामा धेरै सुधार गरे। जारी सिजन त गिरोनाले चमत्कार गरिहरेको छ। रेलिगेशनमा पर्दै लगातार तीन सिजन ला–लिगाबाट बाहिरिएको गिरोनाको अहिलेको यो सफलतामा प्रशिक्षक मिचेल भन्छन्, ‘मलाई थाहा छ कि तीन सिजनमा हामी बाहिर रह्यौं। जसकारण ला–लिगामा आउनु हाम्रो पहिलो उदेश्य थियो। अब हामी शीर्षको उडानलाई निरन्तरता दिन चाहान्छौं।’
गिरोनाको सफलतामा सबैभन्दा बढी भूमिका अट्याक लाइनको रहेको बताइएको छ। डिफेन्स लाइन जति गिरोनको मजबुद छ त्यो भन्दा बढी अट्याकिङ लाइन तगडा छ। यो तथ्यांकले पनि पुष्टि गरेको छ। ला–लिगाको सबैभन्दा बढी गोल गर्ने टिम नै अहिले गिरोना हो। गिरोनाले रियल मड्रिड, एथ्लेटिको मड्रिड जस्ता स्टार स्ट्राइकरले भरिएको टिमलाई समेत पछि पार्दै सबैभन्दा बढी ३१ गोल गरेको छ। जबकी १३ खेल सकिँदासम्म दोस्रो स्थानमा रहेको रियलको २८ र तेस्रोमा रहेको बार्सिलोनाको २६ गोल मात्रै छ।
त्यसैगरी गोलका सबैभन्दा बढी चान्स क्रिएयट (मौका उपलब्ध) गराउनेमा पनि गिरोना दोस्रो छ। उसले ३४ वटा चान्स उपलब्ध गराइसकेको छ। गिरोनाको यो सफलतमा मुख्यगरी प्रशिक्षक मिचेल नै जोडिन्छन्। किनकी उनी आफैं एक कुशल गोलस्कोरर थिए। धेरै समय ला–लिगा क्लब रायो भाल्कानोमा बिताएका मिचेल उक्त क्लबका लागि अहिलेसम्मकै सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन्।
जसकारण पनि उनले आफ्नो टिम गिरोनाको आक्रमण पंक्ति धारिलो पार्नुलाई स्वभाविक रुपमा लिइएको छ। फरवार्ड लाइनको कुरा गर्दा गिरोनाको डिफेन्स लाइन ध्वस्त छ भन्ने पनि होइन। अहिलेसम्म ३१ गोल गरेको गिरोनाले जम्माजम्मी १६ गोल मात्रै खाएको छ।
मिचेल आफ्नो फरवार्ड लाइनबाट ढुक्क देखिन्छन्। जुनसुकै बेला पनि कमब्याक गर्नसक्ने मानसिकतामा उनी ढुक्क देखिन्छन्। अल्मारियाबारेको कमब्याक जितपछि मिचेलले भनेका थिए, ‘म खेलको आक्रमणको बारेमा चिन्तित छैन। किनकी हामीसँग धेरै विकल्पहरु छन्। हामी कुनै पनि विपक्षीलाई समस्यामा ल्याउन सक्छौं।’

उनले भनेजस्तै साँच्चै गिरोनमा अहिले फरवार्ड लाइनको चिन्ता छैन। गिरोनाका जुनसुकै खेलाडीले जतिबेला पनि गोल गर्नसक्ने क्षमता देखाइसकेका छन्। १२ खेल सकिँदासम्म गिरोनकाा १२ फरक खेलाडीले गोल गरेका छन्। ११ फरक खेलाडीले गोलका लागि असिस्ट गरेका छन्। जसकारण गिरोनाका लागि गोल गर्न कुनै एक खेलाडीमा भर पर्नुपर्ने अवस्था छैन। तर यो सबै सफलतामा टिमवर्कले काम गरेको मिचेलको भनाइ छ।
गिरोनाले यो सिजन टिमका महत्वपूर्ण खेलाडीहरु ओरियोल रोमेउ, ट्याटी कास्टेलानोस, रोड्रिगो रिक्वेल्मेजस्ता खेलाडी गुमाएको थियो। तर गिरोनका स्पोर्टिङ विभागका डाइरेक्टरले उनीहरुको अभाव खड्किन नदिने गरी पूर्ति गरिदिए।
यो गिरोनाका लागि निकै नै रोमान्चक समय हो। मिचेलसँग गिरोनाले सन् २०२६ सम्मको सम्झौता गर्नुको पछाडि पनि अहिलेको यो सफलता जोडिएको छ। मिचेलका प्रशिक्षकत्वमा धेरै सफलताका कथाहरु लेखाउने बाटोमा अहिले गिरोना छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।