काठमाडौं – नेपाल सरकारले म्यानमारका भूकम्प प्रभावितका लागि अत्यावश्यक राहत तथा मेडिकल सामग्री र उद्दार कार्यको लागि नेपाली सेनाको टोली पठाउने भएको छ ।
मन्त्रिपरिषद्को सोमवार राति बसेको बैठकले राहत सामग्री तथा औषधी र मेडिकल उपकरणसहित नेपाल वायुसेवा निगमको जहाज पठाउने निर्णय गरेको हो । गत चैत १५ गते म्यानमारमा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्पले ठूलो जनधनको क्षति पुर्याएको छ । भूकम्पमा परी अहिले सम्म झण्डै २ हजार भन्दा बढि मानिसहरुले ज्यान गुमाएका छन् भने हजाराँै घाइते अवस्थामा छन् ।
नेपाल सरकारको विभिन्न निकायमा रहेको मौज्दात सामग्री तथा निजी क्षेत्रबाट प्राप्त मेडिकल सामग्री तथा औषधी र राहत लिएर जहाज म्यानमार जानेछ ।
सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार हवाई जहाज ढुवानीको खर्च अर्थ मन्त्रालयबाट वायु सेवा निगमको नाममा निकासा गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको छ ।
सरकारले नेपाली सेनाको चिकित्सक टोलीलाई पनि म्यानमार पठाउने निर्णय गरेको छ । सेनाको आफ्नै जहाजबाट अत्यावश्यक मेडिकल सामग्रीसहित सेनाको टोली म्यानमार जाने गुरुङले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।