काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत मंगलबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सविरद्ध लखनउ सुपर जायन्ट्सले चार रनको रोमाञ्चक जित हात पारेको छ । यो जितसँगै लखनउले पाँच खेलबाट ६ अंक बनाएको छ भने समान खेल खेलेको कोलकाताको चार अंक छ ।
लखनउले दिएको २३९ रनको विशाल लक्ष्य पछ्याएको कोलकाताले पूरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा २३४ रनमा समेटिएको हो ।
कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ६१ रन बनाए । वेंकटेस अय्यरले २९ बलमा आठ चौका र दुई छक्कासहित ४५ रन बनाए । सुनील नारायण ३० र क्विन्ट डि कक १५ रनमा आउट भएका थिए । जितका लागि अन्तिम समयमा रिन्कु सिंहले अविजित १५ बलमा ६ चौका र दुई छक्का हिर्काउँदै ३८ रन जोडे पनि त्यो पर्याप्त भएन ।
लखनउका आकाश दीप र शार्दुल ठाकुरले समान दुईदुई विकेट लिए । इडेन गार्डेन्समा टस हारेर सुरुमा ब्याटिङ थालेको लखनउले तीन विकेट गुमाउँदै २३८ रन जोडेको थियो । उसका लागि निकोलस पुरनले सर्वाधिक ८७ रन बनाए । मिचेल मार्शले ४८ बलमा ६ चौका र पाँच छक्कासहित ८१ रन बनाए भने एडन माक्ररम ४७ रनमा आउट हुँदा डेभिड मिलर चार रनमा अविजित रहेका थिए । कोलकाताका हर्षित रानाले दुई विकेट लिएका थिए । आइपिएलमा आज गुजरात टाइटन्स र राजस्थान रोयल्स खेल्दैछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।