काठमाडौं– आईसीसी यू१९ विश्वकप छनोटको तयारीका लागि नेपाल र अफगानिस्तानबीच जारी सिरिजको तेस्रो खेल वर्षाले प्रभावित हुँदा नेपाल डकवर्थ लेविस स्टर्न पद्दतिका अनुसार ८५ रनले विजयी भएको छ ।
नेपालले प्रस्तुत गरेको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानको ब्याटिङ नचल्दा नेपाल विजयी भएको हो । २०.१ ओभरमा ४६-६ को स्थितिमा रहँदा वर्षा भएपछि खेल पुन: सञ्चालन हुन सकेन । पहिलो दुई खेलमा अफगानिस्तान १ सय ३० रन र १ रनले विजयी भएको थियो । सिरिज २-१ ले अफगानिस्तानको पक्षमा रह्यो ।
मुलपानी क्रिकेट मैदानमा हल्का वर्षा सुरु हुन थालेपछि खेलको नतिजा नआउने शंका बढेको थियो । तर २० औं ओभरको अन्तिम बलमा सन्तोष यादवले नाजिफुल्लाह अमिरीलाई बोल्ड गरे । अर्को ओभरको पहिलो बलमा वर्षा भारी भएपछि अम्पायरले खेल रोके । त्यस समयमा अफगानिस्तान ४६-६ को स्थितमा थियो ।
त्यसअघि टस जितेर बलिङ रोजेको अफगानिस्तानविरुद्ध नेपालले ४५ औं ओभरमा अलआउट हुँदै १ सय ९१ रनमात्र बनाएको थियो । नेपालले सानदार सुरुवात गरे पनि मध्यक्रमका ब्याटरले राम्रो खेल्न नसक्दा सामान्य स्कोरमा सिमित भयो । नेपालका लागि ओपनर साहिल पटेलले सर्वाधिक ४६ रन जोडे ।
नेपालका लागि ओपनरद्वय साहिल र निरज कुमार यादवले उत्कृष्ट सुरुवात दिलाएका थिए । १५ औं ओभरमा ८३ रनको अवस्थामा निरज आउट भएपछि साझेदारी तोडिएको थियो ।
नेपाल र अफगानिस्तान दुवै सम्मिलित विश्वकप छनोट आइतबारदेखि सुरु हुनेछ । यूएई, ओमान र हङकङ पनि छनोटमा खेल्नेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।