काठमाडौं– राजावादी आन्दोलनमा प्रदर्शनकारीलाई उत्तेजित बनाउने कार्यमा संलग्न थप एकजना पक्राउ परेका छन् ।
‘वीर गोर्खाली मिडिया’ को अध्यक्ष बताउने ४६ वर्षीय मनोज सापकोटालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले पक्राउ गरेको हो ।
एसपी अंगुर जीसीका अनुसार चैत १५ को राजावादी प्रदर्शनलाई हिंसात्मक बनाउने सिलसिलामा मञ्चमै गएर उनले अपिल गरेका थिए । मञ्चमा उभिएर उनले ‘अगाडि बढ्नुस्, यहाँ जनताले गोली खाइसक्यो, अश्रृग्याँस खाइसक्यो…अब सडकमा जाऔं, यहाँ भाषण गर्ने होइन’ भन्दै शंख फुकेर प्रदर्शनलाई उत्तेजित बनाएका थिए ।
सिरहा मिर्चैया नगरपालिका- ६, जिवाका स्थायी बासिन्दा उनी भक्तपुरको लोकन्थलीमा बस्दै आएका थिए ।
पक्राउ परेपछि उनले प्रहरीलाई आफू पत्रकार भएको बताएका थिए । आवश्यक कानूनी कारवाहीका निम्ति उनलाई जिल्ला प्रहरी परिसर, भद्रकाली पठाइएको एसपी जिसीले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।