काठमाडौँ–लुम्बिनीलाई अत्यन्तै पवित्र स्थलका रूपमा मान्दै आएका भियतनामका १ सय ८० बौद्ध धर्मावलम्बी चार्टर विमानमार्फत वैशाख ५ गते भैरहवा आउने भएका छन्।
काठमाडौंमा रहेको रुप्से होलिडेजका प्रबन्ध निर्देशक रमेश पराजुलीका अनुसार भियतनाम एयरलायन्सको विमानबाट १ सय ८० पर्यटक सिधै भैहरवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन्।
‘भियतनामबाट पहिलोपटक सिधा चार्टर उडान गर्दै छौं,’ पराजुलीले भने, ‘यो उडान भियतनाम र नेपालबीचको धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका लागि आयोजना हुन लागेको हो।’
भैरहवामा अवतरण हुने पर्यटक शुक्रबार लुम्बिनीमा आयोजना हुने विशेष पूजामा सहभागी हुनेछन्। उनीहरू वैशाख ६ गते लुम्बिनीबाट सडकमार्ग हुँदै भारतको वाराणसी जानेछन्। उनीहरूलाई ल्याउने चार्टर विमान भने भैरहवाबाट खाली नै भियतनाम फर्किनेछ।
दोस्रो चरणमा रुप्से होलिडेजले भियतनामबाट काठमाडौंका लागि दुइटा चार्टर उडान गर्दै छ। ती उडान जेठ २ र १२ गते हुनेछन्। रुप्सेले यसअघि भियतनाम–काठमाडौंमा थुप्रै पर्यटकीय चार्टर उडान गरिसकेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।