फाइल तस्बिर काठमाडौं– पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको भिडियो सन्देशप्रति नेकपा एमालेले आपत्ति जनाएको छ । पार्टी सचिवालयको बैठकले ज्ञानेन्द्र शाहको अभिव्यक्ति आपत्तिजनक रहेको निष्कर्ष निकालेको उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
‘पूर्वराजा ज्ञानेन्द्रको अभिव्यक्ति आएको छ । उहाँको मनमा अझै पनि राजतन्त्र फर्काउन सकिन्छ कि अहिलेका उपलब्धिहरुलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यस सम्बन्धी सक्रियता जीवितै रहेको पायौं, जुन गलत भयो,’ ज्ञवालीले भने ।
तिनकुने घटनालाई जनतामा आएको जागरण भनेर पूर्वराजाले भनेकोमा पनि एमालेले आपत्ति जनाएको छ । ‘१५ गतेको आपराधिक घटनालाई जनतामा आएको जागरण रुपमा व्यक्त गर्नुभयो । सर्वसाधरणको घरमा लुटपाट, तोडफोड, सरकारी कार्यालयमा विध्वंश …’ बैठकपछि ज्ञवालीले भने, ‘उहाँले खोजेको जागरण त्यस्तै हो भने देखिन त्यो त धेरै आपत्तिजनक कुरा हो । त्यसो भएको हुनाले यस्ता खाले कुनैपनि क्रियाकलाप नगर्नका निम्ति हामीले उहाँलाई भनेका छौं ।’
एमाले बैठकले व्यवस्था उल्ट्याउने प्रयासलाई अबाञ्छित र असफल भनेको छ । ‘मुलुकले लोकतान्त्रिक गणतन्त्रको कोर्स लिइसकेको छ, यसलाई उल्ट्याउने कुनै पनि प्रयास अबाञ्छित हुन् र ती असफल हुनु अनिवार्य छन् । त्यस्तो कुरा नहोस् भन्ने प्रष्ट पार्ने काम बैठकले गरेको छ’ उपमहासचिव ज्ञवालीले भने ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।