एजेन्सी–अस्ट्रेलियाका वैज्ञानिकहरूले ५५ नयाँ प्रकारका माकुरा फेला पारेका छन्। अनुसन्धान टोलीले अस्ट्रेलियाका टाढा र सुख्खा ठाउँहरूमा खोज गरेर यी माकुरा भेट्टाएका हुन्।
यी माकुरालाई ‘विशबोन’ माकुरा भनिन्छ। यी माकुराले जमिनभित्र रेशाले प्वाल बनाउने गर्छन्। विशबोन माकुरा अस्ट्रेलियामा पाइने एक विशेष प्रकारको माकुरा हो, जुन ‘एनेम’ नामक समूहमा पर्दछ। यी माकुराले जमिनभित्र रेशाले बनेको ‘वाई’ आकारको बासस्थान बनाउँछन्, जसको कारणले ‘विशबोन’ नाम दिइएको हो।
उनीहरू सुनौला रङ्गका चम्किला रौंले ढाकिएका हुन्छन्। विशबोन माकुरा टारान्टुला र ट्रयापडोर माकुरासँग सम्बन्धित छन् र प्रायः अस्ट्रेलियाका सुख्खा, दुर्गम क्षेत्रमा पाइन्छन्।
अनुसन्धानकर्ताहरूका अनुसार अझै धेरै माकुरा प्रजाति पत्ता लाग्न बाँकी छ। यो खोजले अस्ट्रेलियाका जङ्गल र जीवजन्तुको विविधता बुझ्न मद्दत गर्नेछ।
वैज्ञानिक जेरेमी विल्सनले दुई वर्षभन्दा बढी समय लगाएर यो अध्ययन गर्नुभएको हो। “हामीले धेरै नयाँ कुरा पत्ता लगाएका छौं,” उनले भनेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।