काठमाडौं– रोयल च्यालेन्जर्स बैगलुरू (आरसिबी) इण्डियन प्रिमियर लिग (आइपिएल) को शीर्ष स्थानमा उक्लिएको छ।
दिल्ली क्यापिटल्सलाई आज ६ विकेटले पराजित गर्दै आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो ।
जितको लागि १ सय ६३ रनको चुनौति आरसिबीले १८.३ ओभरमा ४ विकेटको नोक्सानीमा पूरा गर्यो।
आरसिबीले सुरूवात खराब गर्यो। २६ रन मात्र जोड्दा ३ विकेट गुमायो। ओपनर ज्याकब बेथेल १२ रनमा र देवदत्त पाडिक्कल बिना कुनै रन अक्षर पटेलको बलमा तथा कप्तान रजत पाटिदार ६ रनमा रन आउट हुन पुगे।
तर त्यसपछि विराट कोहली र क्रुनाल पाण्ड्याले चौथो विकेटको लागि १ सय १९ रनको साझेदारी गर्दै जितको आधार बनाए। विराट ५१ रनमा आउट भए।
क्रुनालले ४७ बलको सामना गर्दै ५ चौका र ४ छक्काको मद्दतमा अविजित ७३ रन जोड्दै आरसिबीलाई सहज जित दिलाए। बलिङमा अक्षर पटेलले २ विकेट लिए।
त्यसअघि अरूण जैटली स्टेडियममा आरसिबीले टस जितेर फिल्डिङ रोजेको थियो। दिल्लीले २० ओभरमा ब्याटिङमा संघर्ष गरेको दिल्लीले कुनै पनि समय ठूलो साझेदारी गर्न सकेन। दिल्लीले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय ६२ रनको योगफल बनायो।
ओपनर अभिषेक पोरेल २८ रनमा र करूण नायर ४ रनमा आउट भए। २ विकेटको नोक्सानीमा दिल्लीले ४४ रन मात्र बनाएको थियो।
अर्का ओपनर फाफ डु प्लेसिस २२ रनमा, कप्तान अक्षर पटेल १५ रनमा र केएल राहुल ४१ रनमा आउट भए। लगतै आशुतोष शर्मा २ रनमा पबिलियन फर्कदा ६ विकेटको नोक्सानीमा दिल्लीले १ सय २० रन बनायो।
यसपछि मिचेल स्टार्स बिना कुनै रन आउट हुन पुगे। ट्रिस्टान स्टब्स १८ बल खेल्दै ३४ रनको पारी खेले।
बलिङमा जोश हेजलउड २ र भुवनेश्वर कुमारले ३ समान विकेट झारे।
१० खेलबाट १४ अंक बनाउँदै आरसिबी अंक तालिकाको शीर्षस्थानमा उक्लिएको छ। दोस्रो स्थानको गुजरातले आरसिबीको भन्दा २ खेल कम खेलेको छ। ९ खेलमा दिल्लीको १२ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।