काठमाडौँ – अहिले देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव सक्रिय छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार बंगालको खाडीबाट भित्रिएको जलवाष्पयुक्त हावाको समेत प्रभाव मौसमी प्रणालीमा परेको छ । फलस्वरुप सोमबार देशको पूर्वी भागमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भू–भागका थोरै स्थान तथा अन्य प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ ।
त्यस्तै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा अन्य प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ । यस्तै हिमाली भू–भागमा हल्का वर्षा वा हिमपातको सम्भावना यथावत् रहने महाशाखाले जानकारी दिएको छ । अहिले काठमाडौँ उपत्यकाको मौसम समेत आंशिक रुपमा बदलि छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।