काठमाडौं – सनराइजर्स हैदरावाद यो सिजनको इीन्डयन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ । दिल्ली क्यापिटलसँगको खेल पानीले अवरुद्ध भएपछि अंक बाँड्दै बाहिरिएको हो ।
११ खेलमा तीन जित, सात हार सहेको हैदरावाद तीन खेल खेल्नु अगाडि नै आईपीएलबाट बाहिरिएको हो । हैदरावादले दिल्लीसँग अंक बाँडेपछि सात अंक बनाएको छ ।
हैदरावादका प्याट कुमिन्सले सुरुवाती ३ ओभरमा नै ३ विकेट लिएको खेलमा दिल्ली १३३ रनमा सीमित भएको थियो । १३४ रनको झिनो लक्ष्य पछ्याएको हैदरावादले वर्षाका कारण ब्याटिङ गर्न नै पाएन । कमिन्सले कुल चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए । जयदेव उनादकदले पनि त्यत्तिकै उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए ।
दिल्लीका शीर्ष पाँच ब्याट्सम्यानमध्ये लोकेश राहुल १० रन जोडे । अन्य चार ब्याट्सम्यानले दोहोरो अङ्क समेत छुन नसकेको खेलमा दिल्लीले २९ रनमा ५ विकेट गुमाइसकेको थियो । ट्रिस्टियन स्टब्स र आशुतोष शर्माले समान ४१–४१ रन प्रहार गरे । स्टब्सले ३६ बलमा चार चौकाको मद्दतमा नटआउट ४१ रन बनाएका हुन् । यी दुई जनाले सातौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए ।
हैदरावाद बाहिरिए पनि एक अङ्क दिल्लीका लागि महत्त्वपूर्ण साबित हुन सक्ने छ । सोमबारको खेलमा अंक बाँडेसँगै हैदरावाद पहिलो चरणबाट बाहिरिएको छ भने दिल्ली १३ अङ्क सहित पाँचौँ स्थानमा छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।