काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद स्वर्णिम वाग्लेले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमलाई उँटसँग तुलना गरेका छन्।
प्रतिनिधि सभामा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै उनले सरकारले अरु देशको नक्कल गर्दागर्दा नीति तथा कार्यक्रम उँटजस्तो बनेको उनले बताएका हुन्।
नीति तथा कार्यक्रम सुरुवात गर्ने बेलायतले पछिल्लो नीति तथा कार्यक्रम १२ मिनेटमा सकेको उदाहरण प्रस्तुत गर्दै उनले त्यसकै नक्कल गर्ने नेपालले भने अत्यन्तै लामो दस्ताबजे ल्याएको उल्लेख गरे।
उनले यो दस्ताबेजको कुनै उपादेयता नभएको भन्दै परम्परा धान्नको लागि मात्रै कार्यक्रम आएको बताए। उनले नीति तथा कार्यक्रमको सिक्वेन्स र सिरिज नमिलेको उल्लेख गरे। यसमा मुख्यतया तीनवटा कमजोरी रहेको उनको भनाइ छ।
पहिलो, मन्त्रालयहरुबीच कार्यक्रम बाझिएको, दोस्रो साधन स्रोत छरपस्ट रहेको र योजना छनोट गर्ने निकाय र बजेट बनाउनेबीच तादम्यता नमिलेको उनको भनाइ छ। उनले कृतिम बौद्धिकता जस्तो विषयलाई सञ्चार मन्त्रालयको एउटा बुँदामा सीमित भएको भन्दै यसले काम गर्न नसक्ने उल्लेख गरे।
पर्यटनको लक्ष्य निर्धारण गर्दा तर भौतिक पूर्वाधारसँग नमिलेको, परराष्ट्र मन्त्रालयको कार्यक्रममा अर्थ मन्त्रालयसँग समन्वय नभएको भन्दै उनले आलोचना गरे। वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको कार्यक्रमको भने प्रशंसा गरेका छन्।
वाग्लेले देशमा कुशासनका कारण नेपालले ३० वर्षमा ५५ खर्ब जीडीपी गुमाएको बताए। १९९० को दशकको रफ्तारलाई कायम गर्न सकेको भए अहिले १०० खर्ब डलरको अर्थतन्त्र हुने अवस्था रहेकोमा अहिले ४५ खर्ब मात्रै रहेको भन्दै बाँकी ५५ खर्ब कुशासनको लागत रहेको उनको भनाइ छ।
‘उनले नीति तथा कार्यक्रमले विश्वमा भइरहेको घटनाक्रमलाई अनदेखा गर्ने गरेको भन्दै प्रशान्त सागरको टापुजस्तो बाँकी विश्वसँग अनविज्ञ भएको बताए। अमेरिकामा डोनाल्ड ट्रम्पको निर्णयले ८० वर्षदेखि रुल्स बेस्ड इन्टरनेशनल अर्डर क्षतविक्षत भएको छ। समावेशिताको ग्लोबल स्वरुप ध्वस्त बनाइँदैछ। अहिले बहुराष्ट्रिय विकास निगमहरू ठूलो समस्यामा छन्। यी कुराबाट देशलाई कसरी जोगाउने भन्ने सम्बन्धमा कुनै विषय छैन,’ उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।