विराटनगर–उच्च अदालत विराटनगरले उमागौरी कृषि सहकारी संस्थाको बचत अपचलन मुद्दाको सक्कल मिसिल झिकाउने आदेश दिएको छ।
नेकपा एमालेका सांसद तथा प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइराला पनि यो सहकारीको बचत अपचलन मुद्दामा पनि प्रतिवादी छिन्।
जिल्लाको आदेशविरुद्ध परेको निवेदनको सुनुवाइका लागि बिहीबार कामु मुख्य न्यायाधीश ध्रुवराज नन्दको इजलासले सक्कल मिसिल झिकाउने आदेश दिएको हो।
मोरङको धनपालथान–४ स्थित उमागौरी सहकारी संस्थाको बचत अपचलन मुद्दामा कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि १० लाख धरौटीमा छाड्ने आदेश दिएको थियो। अध्यक्ष सम्भुप्रसाद रौनियारसहित दुई सञ्चालकलाई थुनामा पठाएको थियो। जिल्लाको आदेशविरुद्ध सरकारी वकिल उच्च अदालत पुगेको थियो। उच्चमा दुई न्यायाधीशबिच राय बाझिएपछि अर्को बेन्च तोकिएको थियो।
न्यायाधीश श्रीधराकुमारी पुडासैनीले जिल्लाको आदेशलाई सदर गर्ने राय दिएकी थिइन्। तर न्यायाधीश केशवप्रसाद बाँस्तोलाले भने पुडासैनीको रायमा असहमति जनाउँदै धरौटी बढाएर १ करोड बढाउनुपर्ने राय दिएका थिए। त्यसपछि पुर्पक्षको आदेशका लागि अर्को बेन्च तोकिएको हो। यो मुद्दाको अर्को सुनुवाइ बिहीबार हुनेछ।
उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेको आरोपमा सहकारी ऐनअन्तर्गत मोरङ अदालतमा मुद्दा दर्ता भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।