काठमाडौं– लुम्बिनी प्रदेश सरकारले कृषि, पर्यटन, स्वास्थ्य र शिक्षालाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख कृष्णबहादुर घर्तीले प्रदेश सभा बैठकमा सरकारको तर्फबाट नीति तथा कार्यक्रममा पेस गरेका हुन् ।
‘समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेश’ नारासहित नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई बढी प्राथमिकता दिँदै भविष्यमा सिंगो प्रदेशलाई प्रांगारिक प्रदेश बनाइने उल्लेख छ ।
प्रांगारिक प्रदेश बनाउन रासायनिक मल र विषादीको प्रयोगलाई घटाउन प्रांगारिक मल र वन जंगलमा झरेका पात, स्याउला संकलन गरी कम्पोष्ट मल बनाउन प्रोत्साहन गरिने उल्लेख छ ।
विदेशबाट फर्केका युवालाई बाँझो जमिनमा व्यावसायिक कृषिमा संलग्न गराउन ‘मेरो मातृभूमि मेरो दायित्व कार्यक्रम चलाइने उल्लेख छ । यस्तै जलवायु अनुकूलन कृषि तथा रैथाने पशु पन्छीपालन, रैथाने खाद्यान्न बालीलाई संरक्षण र प्रवर्द्धन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।