काठमाडौँ – इन्डियन प्रिमियर लिग (आईपीएल)मा पञ्जाब किंग्सले क्वालिफायरमा स्थान पक्का गरेको छ । सोमबार राति भएको खेलमा मुम्बई इन्डियन्सलाई ७ विकेटले हराउँदै पञ्जाबले क्वालिफायरमा स्थान पक्का गरेको हो ।
अब अर्को क्वालिफायर खेल्ने टिमको तय आज हुने रोयल च्यालेन्जर्स बैंगलोर र लखनउ सुपर जायन्ट्स बिचको खेलपछि तय हुने छ । आजको खेल जितेमा बैंगलोरले क्वालिफायर खेल्ने छ । अन्यथा उसले इलिमिनेटरमा मुम्बईको सामना गर्नु पर्ने छ ।
क्वालिफायरमा पुग्ने दुई टिमबिचको विजेताले फाइनलमा स्थान बनाउँदा पराजित टिमले इलिमिनेटर खेल्ने दुई टिमबिचको विजेतासँग दोस्रो पटक फाइनल पुग्ने अवसर प्राप्त गर्ने छ । अहिले अङ्क तालिकामा पञ्जाब शीर्ष स्थानमा रहँदा गुजरात दोस्रो स्थानमा छ । त्यस्तै बैंगलोर तेस्रो र मुम्बइ चौंथो स्थानमा रहेको छ ।
सोमबार क्वालिफायर पुग्नका लागि दुवै टिमलाई जित्नै पर्ने दबाब रहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८४ रन बनाएको थियो । जवाफमा उक्त लक्ष्य पञ्जाबले ९ बल बाँकी हुँदै ३ विकेट गुमाएर पुरा गर्यो ।
पञ्जाबको जितमा प्रियन्स अर्या र जोश इंग्लिसले सानदार इनिङ खेलेका थिए । अर्याले ३५ बलमा ९ चौका र २ छक्का प्रहार गर्दै ६२ रन बनाउँदा इंग्लिसले ४२ बलमा ९ चौका र ३ छक्काको सहयोगमा ७३ रनको इनिङ खेले । त्यस्तै कप्तान श्रेयस अय्यर २६ रनमा अविजित रहँदा ओपनर प्रभसिम्रन सिंह १३ रनमा आउट भएका थिए ।
त्यसअघि मुम्बईले सूर्यकुमार यादवको ५७ रनको अर्धशतकीय इनिङमा १ सय ८४ रन बनाएको थियो । यादवले ३९ बलमा ५७ रन बनाउँदा र्यान रिकेलटनले २७ तथा रोहित शर्माले २४ रन बनाए । त्यस्तै कप्तान हार्दीक पाण्डेले २६ रन बनाउँदा नमन धिरले २० रन बनाएका थिए । विल ज्याक १७ रन बनाएर आउट भए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।