काठमाडौं– पूर्वभौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले यातायात व्यवसायीहरुसँग सोमबार मध्यरात भएको सहमति आपत्तिजनक भएको बताएका छन्।
यातायात व्यवसायीहरुसँग झुकेर सरकार सिन्डिकेटलाई संरक्षण गरेको उनको आरोप छ।
आज बिहान बसेको पूर्वाधार विकास समितिको बैठकमा ज्वालाले भने, ‘पहिले तोडिएको सिन्डिकेट फेरि कायम गर्ने सम्झौता भएको छ। जनताले जे प्रयोग गर्न चाहन्छ, त्यही प्रयोग गर्नु पाउनुपर्यो नि। निश्चित वर्गको फाइदाका निम्ति मात्रै काम गरेको छ।’
गण्डकी प्रदेश सरकारले राइडसेयरिङ र सेल्फ ड्राइभलाई मान्यता दिने गरी नियमावली ल्याएको विरोधमा देशभर चक्काजामसहित आन्दोलनमा उत्रिएका यातायात व्यवसायीका प्रतिनिधि र सरकारी वार्ता टोलीबीच सोमबार भएको वार्तामा नियमावली स्थगनको प्रक्रिया अघि बढाउने सहमति भएको थियो।
एकीकृत समाजवादीका नेतासमेत रहेका पूर्वमन्त्री ज्वालाले गण्डकी प्रदेश सरकारले ल्याएको नियमावली ठिक भएको बताए। तर, सरकारले के आधारमा सम्झौता गरियो भनेर प्रश्न गरे। राइड सेयरिङको पक्ष लिंदै उनले भने, ‘यो सम्झौता राम्रो भएन। के आधारमा गरियो ?’
उनले थपे, ‘फेरि मुख्य रुपमा भौतिक पूर्वाधार मन्त्रालय नै जोडिनुपर्ने यसमा। विभिन्न मन्त्रालयका साथीहरुलाई राखेर एउटा सहमति गरिएको छ, यो चाहिँ आपत्तीजनक छ। यस ढंगले जनताले सेवा पाउँदैनन्।’
‘यातायात व्यवसायीले आन्दोलन गरेपछि सिन्डिकेट लगाउने। तोड्नेतिर पनि जाने होला,’ उनले भने, ‘अब जनताले आन्दोलन गरे के हुन्छ त ? पब्लिकलाई त यसले निकै ठूलो समस्या पार्छ नि।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।