काठमाडौं– आइसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको सिरिजको आफ्नो तेस्रो खेलमा नेपाल स्कटल्याण्डसँग २ रनले पराजित भएको छ ।
स्कटल्याण्डले दिएको ३२४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले ३२१ रनमा समेटियो । अन्तिम ओभरमा सात रन मात्र आवश्यक हुँदा करण केसी तस्रो बलमा आउट भएपछि नेपालको हातबाट खेल फुत्कियो र दुई रनले पराजित भयो ।
नेपालका लागि तीन जना ब्याटर भीम सार्की, सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे । भीम सार्कीले ८५ बलमा ८ चौकाको सहयोगमा ७३ रनको पारी खेले ।
यस्तै सोमपाल कामीले ३ चौका र चार छक्काको सहयोगमा ४४ बलमा ६७ रन बनाउँदा दीपेन्द्र सिंह ऐरीले ५१ बलमा ५९ रन बनाए । उनले २ चौका प्रहार गरे । यस्तै आरिफ शेखले ३९, करण केसी र कुशल भुर्तेलले १७/१७ रन बनाउँदा गुल्शन झाले ११ रन बनाए ।
स्कटल्यान्डका लागि म्याकेन्जी जोन्सले सर्वाधिक ३ विकेट लिँदा सफयान क्करिफ र माइकल लिस्कले २/२ विकेट लिए । ब्रान्डन म्याकमुलेन र चार्ली क्यासेलले १/१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३२३ रनको विशाल स्कोर बनाएको थियो ।
स्कटल्यान्डका लागि रिची ब्यारिन्टनले उत्कृष्ट शतकीय पारी खेले । उनले ११३ बलमा शतक पूरा गरे । त्यसक्रममा उनले ६ चौका र चार छक्का प्रहार गरे । आउट हुनुअघि उनले १०२ रन बनाए ।
यस्तै माइकल लिस्क भने अर्धशतक बनाउनबाट मात्र ४ रनले चुके । उनले ६२ बलमा आक्रामक ब्याटिङ गर्दै ९६ रन बनाए । उनले त्यसक्रममा १२ चौका र तीन छक्का प्रहार गरे ।
यस्तै ओपनर चार्ली टियरले पनि अर्धशतकीय इनिङ्स खेले । उनले ६५ बलमा ९ चौकाको सहयोगमा ६८ रनको योगदान दिए । फिनले म्याकार्थीले १७ रनको योगदान दिए । यस्तै मार्क वाटले पनि ९ बलमा ३ छक्का प्रहार गर्दै २१ अविजित २१ रन बनाए ।
आज नेपालका कुनै पनि बलरले कसिलो बलिङ गर्न सकिनन् । पहिलो पावर प्ले मा कसिलो बलिङ गर्दै पाँच ओभरमा १२ रन खर्चिएर करण केसीले दुई विकेट लिएका थिए । तर अन्तिम पावर प्लेमा भने उनको बलिङ नियन्त्रणमा रहन सकेन । करणले ९ ओभर बलिङ गर्दै ७४ रन खर्चिएर २ विकेट लिए ।
दीपेन्द्र सिंह ऐरीले ७ ओभरमा ३७ रन खर्चिएर २ विकेट लिएः । १० ओभर बलिङ गरेका ललित राजवंशीले ४१ रन खर्चिँदै १ विकेट लिए । यस्तै १० ओभरमा ६९ रन खर्चिएका सन्दीप लामिछानेले एक पनि विकेट निकाल्न सकेनन् । सबैभन्दा महँगा सोमपाल कामी बने । ९ ओभर बलिङ गरेका उनले ७५ रन खर्चिएर एक विकेट पनि निकाल्न सकेनन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।