काठमाडौं– आइतबार पनि इजरायलमा विस्फोटका आवाज सुनिएका छन् । इरानले हाइफा र तेल अभिभ लगायतमा क्षेत्रमा गरेको क्षेप्यास्त्र प्रहारबाट १३ जना इजरायली नागरिकको मृत्यु भएको छ ।
इजरायली सञ्चारमाध्यम दि जेरुसेलम पोस्टका अनुसार आक्रमणमा कम्तीमा २७० जना घाइते भएका छन् । शुक्रबारयता इजरायलले गरेको आक्रमणबाट इरानमा भने २७० भन्दा धेरैको मृत्यु भइसकेको छ भने ८०० जना घाइते भएका छन् ।
जेरुसेलम पोस्टले समाज कल्याण मन्त्रालयलाई उदृत गर्दै इरानी आक्रमणका कारण कम्तीमा ७२४ जना सर्वसाधरण घरबारविहीन भएको उल्लेख गरेको छ । एबीसी न्युजका अनुसार दुई रातमा इरानले दुई सय ब्यालेस्टिक मिसाइल इजरायलतर्फ प्रहार गरेको थियो ।
सीएनएनले इजरायली डिफेन्स फोर्सले इरानी आक्रमण रोक्न सुरक्षा प्रणाली सक्रिय रहेको बताउँदै नागरिहरुलाई सुरक्षित स्थानमा बस्न निर्देशन दिएको जनाएको छ । तेलअभिभस्थित सीएनएन संवाददाताहरुले सहरमा खतराको संकेत जनाउने साइरन बजिरहेको बताएका छन् ।
इरानमा पनि आइतबार दिउँसो इजरायली आक्रमण भएको छ । सीएनएनले स्थानीयलाई उदृत गर्दै तेहरानमा दिउँसो नयाँ विस्फोटले सहरमा कम्पन उत्पन्न भएको उल्लेख गरेको छ । इरानी सरकारी मिडियाले आवासीय क्षेत्र भएको सहरको पश्चिमी भागमा विस्फोटका आवाज सुनिएको र धूवाँको मुस्लो आकाशमा देखिएको उल्लेख गरेका छन् । तर यो विस्फोटमा कति मानवीय क्षति भयो भन्ने उल्लेख भइसकेको छैन । विस्फोटका आवाज आइरहेका बेला इजरायली सेनाले पत्रकार सम्मेलन गरिरहेको थियो । इजरायली डिफेन्स फोर्सका प्रवक्ता इफी डेफ्रिनले भने, 'हामी एक्कैछिन पनि आक्रमण राेक्दैनौँ । हामीले तेहरानमा एकपछि अर्को आक्रमण जारी राख्नेछौँ ।'
शुक्रबार इरानविरुद्ध इजरायलले आक्रमण गरेयता दुई देशबीच एक अर्काविरुद्ध मिसाइल आक्रमणको शृंखला जारी छ । शनिबार मध्यराति पनि इजरायलले इरानको तेल प्रशोधन केन्द्र लक्षित गरी आक्रमण गरेपछि इरानले जवाफी आक्रमण सुरु गरेको हो ।
इजरायलमा करिब ५ हजार ५०० र इरानमा रहेका १२ नेपाली विभिन्न सेवा क्षेत्रमा कार्यरत छन् । आइतबार परराष्ट्रमन्त्री राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरुलाई टेलिफोन गरी नागरिकको सुरक्षा र उनीहरुसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिएकी छिन् । इजरायल र इरानबीच विकसित घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीको हित सुनिश्चित गर्न आवश्यक उपयुक्त कदम चालिने परराष्ट्रले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।