सर्लाही– सर्लाही प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको छ।
बुधबार बिहान विशेष सूचनाको आधारमा गरेको जाँचका क्रममा प्रहरीले साढे ४२ लाख भन्सार छलीका सामानसहित ट्रक नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय करमैयाको टोलीले वीरगन्जबाट इटहरीतर्फ जाँदै गरेको बा ५ ख ३६० नम्बरको ट्रक नियन्त्रणमा लिएको सर्लाही प्रहरीका निमित्त प्रहरी प्रवक्ता बालिष्टर सिंहले बताए। उनका अनुसार उक्त ट्रकका चालकसँग लोड गरिएको सामानको आवश्यक कागजात नभेटिएको र भएका कागजात शङ्कास्पद रहेकोले ट्रक नियन्त्रणमा लिइएको हो।
भन्सार छलीका सामान भेटिएपछि थप अनुसन्धानको लागि ट्रक नियन्त्रणमा लिएर पथलैया राजश्व कार्यालयमा पठाइएको सर्लाही प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त ट्रकमा भन्सार छलीका टायर, किसमिस, छाता, कस्मेटिक्ससहितका सामानहरू रहेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।