जकार्ता– ज्वालामुखी विस्फोटका कारण इन्डोनेसियास्थित पर्यटकीय क्षेत्र बाली टापु आउजाउ गर्ने दर्जनौं उडान अवरुद्ध हुनुका साथै रद्द भएका छन् ।
स्थानीय समयअनुसार मंगलबार ५ः३५ मा फ्लोरेस टापुस्थित माउन्ट लेवोटोबी लाकी–लाकीमा ज्वालामुखी विस्फोट भएको थियो । बुधबार बिहान पुनः अर्को विस्फोट भएको छ । विस्फोटपछि ११ किलोमिटर माथिसम्म तातो खरानीको मुस्लो उडेको थियो । छाता आकारमा आकाशमा देखिएको सुन्तला रङको मुस्लो १५० किमि परसम्मको गाउँबाट समेत देखिएको थियो ।
विपद्सम्बन्धी काम गर्ने स्थानीय अधिकारीहरूले ज्वालामुखी विस्फोटपछि नजिकैका दुई गाउँका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरण गरेका छन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार हालसम्म मानवीय क्षति भने भएको छैन । स्थानीय प्रशासनले नजिकका गाउँहरूलाई खाली गराएको छ । सञ्चारमाध्यमहरूका अनुसार इन्डोनेसियाको विपद्सम्बन्धी निकायले बुधबार बिहान पनि कम्पन र विस्फोट रेकर्ड गरिएको जनाएको छ । त्यस्तै भौगर्भिक कार्यालयले स्थानीय र पयर्टकहरूलाई ज्वालामुखी विस्फोट भएको क्षेत्रको ७ किलोमिटर परिधिभित्र नजान चेतावनी दिएको छ ।
देनसार अन्तर्राष्ट्रिय विमानस्थलले ज्वालामुखीका कारण उडान अवरुद्ध भएको जनाएको छ । राजधानी जकार्ताका अलावा अस्ट्रेलिया, चीन, भारत, मलेसिया, न्युजिल्यान्ड र सिंगापुरका उडान पनि ज्वालामुखीका कारण प्रभावित भएका छन् । विस्फोटपछि कम्तीमा ३२ उडानहरू रद्द गरिएको बालीस्थित नगुराह राई विमानस्थल कार्यालयले जनाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
ज्वालामुखी विस्फोटका कारण अस्ट्रेलिया, भारत र सिंगापुरबाट हुने उडानहरू बढी प्रभावित भएको समाचार संस्थाहरूले जनाएका छन् । विशेषगरी जेटस्टार, सिंगापुर, एयर एसियालगायतका अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीका उडान बढी प्रभावित भएका छन् । त्यस्तै, इन्डोनेसिया सरकारले यात्रुहरूको सुरक्षा सुनिश्चित गर्न मौमेरेको विमानस्थल बिहीबारसम्म बन्द गर्न आदेश दिएको छ ।
यसअघि गत नोभेम्बरमा भएको माउन्ट लेवोटोबी पहाडमै भएको ज्वालामुखी विस्फोटका कारण नौ जनाको मृत्यु भएको थियो भने हजारौं स्थानीय विस्थापित भएका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।