काठमाडौं– उच्च अदालतको आदेश पछि काममा फर्केका काठमाडौं महानगर प्रहरी बलका प्रमुख राजुनाथ पाण्डेले पुरानो कुरा बिर्सिएर कार्यालय आएको बताएका छन् ।
बिहीबार कार्यालयको नियमित काममा आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले अदालतको निर्णयप्रति आभार व्यक्त गर्दै हिजोसम्मका पुराना सवै कुरा बिर्सिएर कार्यालय आएको बताएका हुन् ।
उनले नियम–कानूनको परिधिभित्र रहेर कानूनले तोके बमोजिम नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत, कार्यपालिका सदस्यहरु, नगर सभाका सदस्य सवैसँग जवाफेदेही रहने धारणा राखे ।
आफू १५ दिन सेवाबाट बाहिर रहँदा अनुशासनहीन क्रियाकलाप भएको सुनेको भन्दै उनले नियमकानून विपरीत गतिविधि गर्नेलाई कारबाही गर्ने स्पष्ट पारे।
पाण्डेले चेन अफ कमाण्ड नमान्ने कुनै पनि तहको कर्मचारीलाई नछाड्ने चेतावनी समेत दिए । कोहीप्रति आग्रह पूर्वाग्रहविना अब शसक्त भएर परिणाममुखी ढंगले महानगर प्रहरीले काम गर्ने उनको भनाइ छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।