काठमाडौं– ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले आगामी दुई वर्षभित्र देशभर विद्युत पहुँच शतप्रतिशत पुर्याउने सरकारको लक्ष्य रहेको बताएका छन्।
बुधबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयकमाथि उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री खड्काले यस्तो बताएका हुन्।
उनले दुई वर्षपछि वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १५०० युनिट पुग्ने लक्ष्यका साथ कार्यक्रमहरू अगाडि बढाइएको बताए।
उनले यो लक्ष्य हासिल भएमा मुलुक ऊर्जा निर्यात गर्ने राष्ट्रको रूपमा स्थापित र ८८ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन हुने विश्वास व्यक्त गरे।
उनले विद्युत् पूर्वाधार तथा आयोजना निर्माणका क्रममा ८ लाख ६५ हजार १ सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने दाबी गरे।
‘विद्युत् पहुँच अबको दुई वर्षभित्रमा शतप्रतिशत गर्नेगरी लक्ष्य राखेर काम गरिराखेका छौँ। वार्षिक प्रतिव्यक्ति विद्युत् खपत १५०० युनिट यो दश वर्षमा पुर्याइने भन्ने लक्ष्यका साथ काम भइरहेको छ। यसले मुलुकलाई ऊर्जा निर्यात गर्ने देशको रूपमा स्थापित गर्ने कुरा पनि म निवेदन गर्न चाहान्छु। यो लक्ष्यलाई हासिल गर्दैगर्दा राजस्व ८८.८६ अर्ब संकलन हुनेछ। कुल अनुमानित रोजगारी सिर्जना आठ लाख ६५ हजार एक सय ८८ जनाले प्रत्यक्ष रोजगारी पाउने छन्। यसले अप्रत्यक्ष रुपमा पनि लाखौँ रुपमा सिर्जना गर्नेछ। यो लक्ष्यलाई कार्यान्वयन गर्नेगरी सरकारले आफ्नो कामकारबाही अगाडि बढाएको छ,’ उनले भने।
सरकारले सन् २०३५ भित्रमा २८ हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखेको र सोहीअनुसार कार्यक्रम अघि बढाइएको पनि मन्त्री खड्काले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।