एजेन्सी– गाजाको नागरिक सुरक्षा एजेन्सीले शुक्रबार प्यालेस्टिनी क्षेत्रमा लगभग २१ महिनाको युद्धपछि इजरायली हमलामा कम्तीमा १५ जनाको मृत्यु भएको बताएको छ। इजरायलले हालै गाजा पट्टीमा आफ्नो सैन्य कारबाही विस्तार गरेको छ।
त्यहाँ युद्धले यस क्षेत्रको २० लाखभन्दा बढी जनसङ्ख्याका लागि गम्भीर मानवीय अवस्था सिर्जना गरेको छ। दक्षिणी गाजा सहर खान युनिस नजिकै विस्थापित मानिसहरूको शिविरमा भएको इजरायली हवाई आक्रमणमा एक बालकसहित सात जनाको मृत्यु भएको गाजाका नागरिक सुरक्षा अधिकारी मोहम्मद अल–मुघायरले बताए।
उनले खान युनिसको तटमा रहेको पाल शिविरहरूमा दुई अन्य आक्रमणमा थप आठ जनाको मृत्यु भएको बताए। उक्त आक्रमणमा शुक्रबार बिहान दुई बालबालिकाको मृत्यु भएको थियो।
प्यालेस्टिनी लडाकू समूह हमासले बिहीबार मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि नयाँ प्रस्तावहरूबारे छलफल गरिरहेको बताए पनि इजरायली नेताहरू हमासलाई दमन गर्ने आफ्नो लक्ष्यमा अडिग छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायलले हमाससँग ६० दिनको युद्धविराममा सहमति जनाएको भन्दै गाजामा बाँकी रहेका बन्धकहरूलाई रिहा गर्नसक्ने बताएका थिए। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु बाँकी बन्दीलाई फिर्ता गर्न ठूलो आन्तरिक दबाबमा परेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।