काठमाडौं– फ्रेन्ड्स क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा पहिलो जित हात पारेको छ। फ्रेन्ड्सले आइतबार भएको खेलमा मच्छिन्द्र फुटबल क्लबलाई ३–० गोलले पराजित गर्दै पहिलो जितको स्वाद चाखेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा फ्रेन्ड्सले तीनै गोल दोस्रो हाफमा गर्यो। ६५ मिनेटमा फोफना ब्रहिमानले गोल गरेर फ्रेन्ड्सलाई अग्रता दिलाए। उनले फ्रिकिकमार्फत बललाई जाली चुमाएका थिए।
८४ मिनेटमा फ्रेन्ड्सले दोस्रो गोल गर्न सफल भयो। उसका लागि सन्जोग महर्जनले लङ रेन्ज सर्टमार्फत गोल गरेका थिए। दोस्रो हाफको इन्जुरी टाइमको पाँचौ मिनेटमा अनिल महर्जनले फ्रेन्ड्सका लागि तेस्रो गोल गरे।
जितसँगै फ्रेन्ड्सले पाँच खेलबाट ४ अंक जोडेको छ भने नवौं स्थानमा उक्लिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।