काठमाडौं– वर्षा र सहकालका देवताका रुपमा मानिने रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा ललितपुरमा सम्पन्न भएको छ ।
आइतबार जावलाखेलमा विशेष समारोहका बीच मच्छिन्द्रनाथको भोटो देखाइएपछि रातो मच्छिन्द्र नाथको रथजात्रा पनि औपचारिक रुपमा सम्पन्न भएको छ ।
भोटो जात्रा समारोहमा राष्ट्रप्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भई मच्छिन्द्रनाथको भोटो अवलोकन गरेका थिए ।
सोही अवसरमा राष्ट्रपति पौडेलले मच्छिन्द्रनाथको दर्शन गर्दै प्रसाद ग्रहण गरेका थिए । समारोहमा उपराष्ट्रपति रामसहाय यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश लगायतको पनि उपस्थिति रहेको थियो ।
मच्छिन्द्रनाथको रथलाई लगनखेलबाट जावलाखेल पु¥याएको चार दिनपछि भोटो देखाउने जात्रा हुने परम्पराअनुसार भोटोजात्रा मनाइएको हो । मणि, माणिक, रत्न आदि बहुमूल्य वस्तुजडित भोटो प्रत्येक वर्ष मच्छिन्द्रनाथको रथजात्राको अन्तिम दिन सार्वजनिक रूपमा देखाउने प्रचलन छ ।
भोटोजात्रा सकिएपछि मच्छिन्द्रनाथको मूर्तिलाई प्राचीन कलात्मक खटमा राखेर सांस्कृतिक बाजागाजासहित जावलाखेलबाट बुङ्मतीको मच्छिन्द्रबहाल पुर्याइन्छ ।
मच्छिन्द्रनाथलाई अन्नदाता, पानी पार्ने देवताका रुपमा तथा अनिष्ट र अनिकाललाई सामना गर्ने देवताका रुपमा मानिने भएकाले पनि यसको पुरातात्विक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक महत्व रहिआएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।