काठमाडौं– दक्षिण एसियाली यू– २१ ब्याडमिन्टन च्याम्पियनसिपमा भारतले आफ्नो वर्चश्व जमाएको छ।
नेपाल ब्याडमिन्टन संघको आयोजना तथा ब्याडमिन्टन एसियाको विकास कार्यक्रम अन्तर्गत भएको च्याम्पियनसिपको पुरुष एकलतर्फ भारतका प्रियान्सु रजावत श्रीलङ्काका रन्थुस्का ससिन्दुलाई १६ । २१, २१ । १६, २१ । १७ ले पन्छाउँदै स्वर्ण कब्जा गर्न सफल भए। नेपालका नविन श्रेष्ठ र सुनिल जोशीले कास्य पदकमा चित्त बुझाए।
यस्तै महिला एकलमा भारतकी माल्भिका बान्सोदले आफ्नै देशकी पूर्वा बार्वेमाथि २१ । १२, २१ । ८ को जित निकाल्दै स्वर्ण हात पारिन्। मालदिभ्सकी फथिमाथ नवाह र श्रीलङ्काकी हसिनी अम्बालङ्गगोड्गेले कास्य पाए।
हलचोकस्थित सशस्त्र प्रहरी बलको कभर्डहलमा भएको प्रतियोगिताको मिश्रीत युगल तर्फ पनि बिष्णुबर्दना गाउड र तनिशा क्राष्टोको जोडीले भारतको लागि स्वर्ण जोडे। गाउड र क्राष्टोको जोडीले श्रीलङ्काका रन्थुस्का ससिन्दु र दिल्मी डायसको जोडीलाई २१ । १०, २१ । १६ ले पाखा लगाए। नेपालका रशिला महर्जन र प्रफुल महर्जन तथा बंगलादेशका फारविन विन्ते ईम्दाद हृदिता र सयद साकेर मोहम्मद सिवगतको जोडी तेश्रो स्थान खुम्चिए ।
महिला युगलमा पनि भारतले बाजी मार्यो। भारतका पूर्बा बार्वे र तनिशा क्राष्टोका जोडीले मालदिभ्सका जुम्ल्याहा दिदि बहिनी अमिनाथ नविहा र फाथिमाथ नवाहलाई २१ । १४, २१ । १८ ले पराजित गर्दै स्वर्ण प्राप्त गरे। तेश्रो स्थानमा बंगलादेशका रश्मि अक्तर र उर्मी अक्तर तथा नेपालका जेशिका गुरुङ्ग र सुनैना मुखियाको जोडी रहे।
पुरुष युगल तर्फ पनि भारतकोनै जित भयो। भारतका बिष्णुबर्दन गौड पान्जला र ध्रुव रावतको जोडीले नेपालका नविन श्रेष्ठ र प्रिन्स दाहालको जोडीलाई २१ । १६, १७ । २१, २१ । १७ ले पराजित गर्दै स्वर्ण भारतको पोल्टामा पार्न सफल भए ।
भारतले यस अघि मिश्रीत युगल तर्फको स्वर्ण पदक पनि आफ्नो पोल्टामा पारेको थियो । यसका साथै भारतले ६ वटै स्वर्ण पदक आफ्नो देश लगेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।