पेरिस– फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) को लगातार जितको यात्रामा पूर्णविराम लागेको छ। पिएसजीलाई आइतबार राति भएको खेलमा बोर्डेक्सले २–२ गोलको बराबरीमा रोकेको हो।
खेलको ३४ मिनेटमा नेइमाराले गोल गरेर पिएसजीलाई अग्रता दिलाए। तर ५३ मिनेटमा ब्रियान्डले बराबरी गोल फर्काउन सफल भए। ६६ मिनेटमा केलियन एमबाप्पेले गोल गरेर पिएसजीलाई दोस्रो पटक अग्रता दिलाए। खेल सकिन ६ मिनेट बाँकी छदा बोर्डेक्सका कोर्नेलिउसले गोल गरेपछि खेल दोस्रो पटक बराबरीको अवस्थामा पुगेको हो।
खेलको ५७ मिनेटमा पिएसजीका फरवार्ड नेइमार घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए। नेइमार अघिल्लो साता पनि घाइते भएका थिए। मंगलबार च्याम्पियन्स लिगको खेलमा लिभरपुलविरुद्ध खेलमा फर्किएका नेइमार फेरि घाइते भएका हुन्। नेइमार अहिले ग्रोइङको समस्याबाट ग्रसित भएका हुन्। यता खेलमा एमबाप्पे पनि हामस्ट्रिङका कारण मैदान छाड्न बाध्य भएका थिए। तर उनको अवस्था अहिले सामान्य रहेको पिएसजीले जनाएको छ।
यसअघि पिएसजीले लगातार १४ खेलमा जित निकाल्दै रेकर्ड बनाएको थियो। युरोपका शीर्ष पाँच लिगको सुरुवाती १४ खेल जित्ने पिएसजी पहिलो क्लब बनेको थियो।
१५ औं खेलमा बराबरीमा रोकिएको पिएसजीको ४३ अंक छ। समान खेलबाट २९ अंक जोडेको मोन्टपेलियर दोस्रो र २८ अंक जोडेको लियोन तेस्रो स्थानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।