काठमाडौं- अवकाश पाउन करिब एक साताको समय रहेका सर्वोच्च अदालतका प्रधानन्यायाधीश ओमप्रकाश मिश्र अदालतका कर्मचारी र परिवार लिएर सेनाको हेलिकप्टोरमार्फत पाथिभरा भ्रमणमा गएका छन्।
सर्वोच्च अदालत उच्च स्रोतका अनुसार गोप्य रुपमा प्रधानन्यायाधीश मिश्र, रजिष्ट्रार महेन्द्रनाथ उपाध्याय लगायतको टोली आज बिहान पाथिभरा प्रस्थान गरेको बतायो। प्रधानन्यायाधीशले अन्य सहकर्मी न्यायाधीशहरुलाई पेशी तोकेर आफू परिवारसहित हेलिकोप्टर चढेर पाथिभरा दर्शनमा निस्किएका हुन्। मिश्रले ताप्लेजुङ जिल्ला अदालतको निरीक्षण भ्रमणलाई समेत तालिकामा समावेश गरेका छन्।
सोमबार १० न्यायाधीशको इजलास तोकेका मिश्रले २०४ थान मुद्दा सुनुवाइका लागि पेशी तोकेका छन्।
मिश्रको टोलीमा कति सदस्य छन् भन्ने कुरा अदालत प्रशासनले गोप्य राखेको छ। भ्रमणका बारेमा बुझ्न खोज्दा रजिष्ट्रार उपाध्यायसँग सम्पर्क हुन सकेन।
यसअघि पनि प्रधानन्यायाधीश यसैगरी रारा भ्रमणमा हिँडेका थिए। प्रधानन्यायाधीश मिश्रले ’अदालतको निरीक्षण’ उल्लेख भएको उक्त भ्रमणमा श्रीमती, छोरी, ज्वाइँ र भतितासमेत थिए। यसपटक पनि परिवारका सदस्यहरु संलग्न रहेको स्रोतले बतायो।
अदालत अनुगमनका लागि यसअघि परिवार र आफू नजिक रहेका व्यक्तिहरु लैजाने चलन छैन। जिल्ला अदालतहरुको भ्रमणका लागि प्रधानन्यायाधीश, अदालतका कर्मचारी र मातहतका उच्च अदालतका न्यायाधीश सानो संख्यामा जाने चलन थियो। तर मिश्रले १६ जनाको जम्बो टोली बोकेर सर्वोच्च अदालतको खर्चमा भ्रमणमा निस्केका थिए।
यसअघि कामु प्रधानन्यायाधीश रहेको समयमा सेनाको हेलिकोप्टर लिएर दीपकराज जोशी पनि पेशी तोकेर दोलखाको भीमेश्वर दर्शनमा परिवारका सदस्यसहित निस्केका थिए।
प्रधानन्यायाधीश मिश्रको कार्यकाल आगामी पुस १७ गते सकिँदैछ। मिश्रले पनि असअघिका प्रधानन्यायाधीश जस्तै मितव्ययीतालाई मिचेर परिवारसहित अदालतको कर्मचारी बाहेकका व्यक्तिलाई लिएर भ्रमण गरेका हुन्।
मिश्रको यस्तो कदमपछि अदालतमा आलोचना भएको छ। प्रधानन्यायाधीश हुँदैमा उनले सेनाको हेलिकोप्टरमा गरेको भ्रमणले अदालत मितव्ययी नहुने भनी न्यायाधीशहरुले नै आलोचना गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।