पशुपतिनगर– इलाम नगरपालिका–१२ को ‘सटके पहिरो’ ६४ वर्षपछि नियन्त्रणमा आएको छ। पहिरो नियन्त्रणका लागि जल उत्पन्न प्रकोप तथा सिँचाइ डिभिजन कार्यालय विराटनगरले सटके पहिरो नियन्त्रण तथा संरक्षण उपभोक्ता समिति गठन गरी विसं २०६७ मा नियन्त्रणको काम सुरु गरेको थियो।
स्थानीय समुदायको सक्रियतामा पहिरो नियन्त्रणका लागि सरकारले आर्थिक वर्ष २०६९/७० सालबाट बजेट विनियोजन गरेको थियो। आर्थिक वर्ष २०६९/७० मा पहिरो नियन्त्रणका लागि ३५ लाख, आर्थिक वर्ष २०७०/७१ मा २२ लाख र आर्थिक वर्ष २०७१/७२ मा १९ लाख ६७ हजार रुपैयाँ छुट्याइएको थियो।
पहिरो नियन्त्रणको काम पूरा भएपछि अहिले पहिरो क्षेत्रमा हरियाली छाएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर राईले बताए। पहिरो सुरु भएको क्षेत्रबाट तारजाली लगाई बग्न नदिएको र अन्य क्षेत्रमा बाँसलगायत वृक्षारोपण गरिएको थियो।
विसं २०२५ को भदौ, असोज र कात्तिक महिनामा आएको अविरल वर्षापछि पहिरो नियन्त्रण बाहिर गएको थियो। पहिरो नियन्त्रण बाहिर गएपछि साङ्रुम्बा क्षेत्रमा ३ सय बढी परिवार विस्थापित भएको स्थानीय धमप्रसाद जबेगुले बताए।
तत्कालीन समयमा पहिरोका कारण २० घर दलित समुदाय र ३२ घरधुरी आदिवासी जनजाति समुदाय विस्थापित भएका थिए।
पुवाखोलाबाट सुरु भएको पहिरोको लम्बार्इ १ हजार ५ सय मिटर र चौडा ९ सय मिटर लामो रहेको स्थानीयबासी रत्न आधारभूत विद्यालयका प्रधानाध्यापक महेन्द्रबहादूर राईले बताए।
स्थानीयबासीले हरेक वर्ष विस्थापित हुनुपर्ने र खेतीयोग्य जमिन मासिने क्रम बढेपछि २०२५ देखि नै नियन्त्रणका लागि सरकारलाई माग गरिँदै आएको थियो।
‘सटके पहिरो’ नामले चिनिएको पहिरो नियन्त्रणको कार्यक्रम सुरु भएको वर्ष केही मात्रामा पहिरो बगे पनि अहिले पूर्णरुपमा नियन्त्रणमा आएको उपभोक्ता समितिका अध्यक्ष महेन्द्रबहादुर राईले बताए। २०११ सालबाट सुरु भएको पहिरोेका कारण तत्कालीन साङ्रुम्बा गाविसका ५ वटा वडाका बासिन्दा जोखिममा परी हरेक वर्ष विस्थापित हुँदै आएका थिए। (समाचार-रासस/तस्बिर-साैर्य दैनिक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।