चितवन- जिल्लामा सवारी दुर्घटना भयावह बन्दै गएको छ। चालू आर्थिक वर्षको ६ महिनामा भएका १६१ दुर्घटनामा परी ९१ ले ज्यान गुमाएका छन्। ती दुर्घटनामा ३४० घाइते भएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार दुर्घटनाका कारण पूर्वपश्चिम लोकमार्गमा २०, नारायणगढ मुग्लिन सडकखण्डमा १५, पृथ्वी राजमार्गमा १७, भरतपुर महानगरपालिकाभित्र ११ र जिल्लाका अन्य भित्री सडकमा २८ को मृत्यु भएको हो। मृत्यु हुनेमा सबैभन्दा बढी मोटरसाइकल सवार रहेको कार्यालयको तथ्याङ्कले जनाएको छ।
मोटरसाइकलमा सवार ३७ को मृत्यु भएको छ भने पैदलयात्री २२ को मृत्यु भएको छ। यस्तै बसमा सवार १७, साइकलयात्री ६ जना, ट्रक ट्याङ्करमा सवार पाँच जना, जीप कारमा सवार तीन जना र अटोमा सवार एक जना रहेको कार्यालयले जनाएको छ।
कार्यालयको तथ्याङ्कअनुसार गत आवको यसै अवधिमा सवारी दुर्घटनाबाट ६१ को मृत्यु भएको थियो। जिल्लाभित्र भएका ११५ दुर्घटनामा २३० घाइते भएका थिए। गत आवमा जिल्लामा २७१ वटा सवारी दुर्घटना भएका थिए। जसमा १३२ को ज्यान गएको थियो भने ५२९ घाइते भएका थिए।
कार्यालयले दिएको जानकारीअनुसार गत वर्षको तुलनामा चालू आवमा दुर्घटना निकै बढेका हुन्। ग्रामीण सडकमा समेत दुर्घटना बढेपछि चुनौती थपिएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक वेदप्रसाद गौतमका अनुसार सवारी साधनको चापमा वृद्धि, युवापुस्ताले तीव्र गतिमा सवारी हाँक्नु, अटेर गरी मदिरा सेवन गरेर सवारी चलाउने जस्ता कारणले दुर्घटना बढेका हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।