डडेल्धुरा– डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र वितरण गर्ने तयारी थालिएको छ। सवारी चालक अनुमति पत्र (लाइसेन्स) निकाल्न सकिने भएपछि सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लालाई सहज हुने भएको छ।
डडेल्धुरामा स्थापना भएको यातायात व्यवस्था सेवा कार्यालयले जिल्लामै परीक्षा सञ्चालन गरी लाइसेन्स वितरण गर्ने भएपछि ७ वटै पहाडी जिल्लाका नागरीकहरूलाई सहज हुने डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालय डडेल्धुराले जनाएको छ।
यसअघि लाइसेन्स नवीकरण, सवारी दर्ता (ब्लु बुक) नवीकरण सेवा, सवारी जाँचपास सेवा सुुरु गरेको डडेल्धुरा यातायात व्यवस्था सेवा कार्यालयले बताएको छ।
अब निर्माणाधीन ट्रायल सेन्टर भाडामा लिइ लाइसेन्स वितरण गर्ने तयारी थालेको कार्यालयका प्रमुख दिलिप लामाङले बताए। उनले भन, ‘स्थापना भएको झण्डै ३ वर्षसम्म अस्थायी रुट पर्मिट जारी गर्ने काम गर्यौँ, अहिले चालक अनुमति पत्र नवीकरण, ब्लु बुक नवीकरण सेवा, सवारी साधनको प्रदुषण जाँचको काम सुरुवात गरीसकेका छौँ। अब स्मार्ट लाइसेन्स जारी गर्ने, सवारीको नामसारी र दर्ताका लागि तीव्र गतीमा काम भइरहेको छ।’
करिब १ करोडको लगानीमा निर्माण भइरहेको ट्रायल सेन्टरमा ५० लाख बराबरको काम भइसकेको छ। ३ महिना अघिबाट निमार्ण थालिएको उक्त ट्रायल सेन्टर चैतसम्म सञ्चालन भइसक्ने बताइएको छ।
डडेल्धुराबाटै नयाँ सवारी चालक अनुमति पत्र निस्किने भएपछि पहाडी जिल्लावासीलाई सहजतासँगै यहाँको व्यापार व्यवसाय समेत फस्टाउने उग्रतारा ड्राइभिङ एण्ड ट्रेनिङ सेन्टरका सञ्चालक तेज बहादुर ऐरको भनाइ छ।
गत आवमा नेपाल सरकारकोे सुन्दर र सुविधा सम्पन्न सहर निर्माण गर्ने योजना अनुरुप नै सुदरपश्चिम सरकारले कार्य गरेको जानकारी दिइएको छ।
स्थापना भएको ३ वर्षसम्म पनि सुस्त गतिमा रहेको यातायात व्यवस्था सेवा कार्यालयबाटै स्मार्ट कार्ड छाप्ने र वितरण गर्ने योजना रहेको सुदुरपश्चिम प्रदेशको भौतिक पूर्वाधार तथा योजना मन्त्री पठान सिंह बोहराले बताए।
‘यसमा प्रदेश सरकारको पनि महत्वपूर्ण भूमिका हुन्छ,’ उनले भने, ‘अब हामी छिट्टै बैठक बसेर स्मार्ट कार्ड छाप्ने र वितरण गर्ने तयारीमा छौँ।’
अहिले डडेल्धुुरा बाहेकका बैतडी, बझाङ, दार्चुला, बाजुरा, डोटी, अछामवासीले नयाँ सवारी चालक अनुमति पत्र लिन तराई झर्नुपर्छ।
सवारी चालक अनुमति पत्रका लागि सुरुमा फोटो खिच्न, लिखित परीक्षा र ट्रायल गरी ३ पटक कैलाली तथा कन्चनपुर जादाँ थुप्रै खर्च हुने गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।