रत्ननगर - विपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरमा डिएनए र आरएनए परीक्षण गर्न सकिने भएको छ ।
अमेरिकी युथा विश्वविद्यालयको अनुदान सहयोगमा डिएनए (डेक्सिबेरोन्युलिकिक एसिड) र आरएनए (रिबन्यूक्लिक एसिड) परीक्षण गर्ने ‘रियल टाइम पिसिआर मेशिन’ प्राप्त भएसँगै अस्पतालमा यससम्बन्धी परीक्षण गर्न सकिने भएको हो ।
यो उपकरणबाट एचपिभी १६ र १८ (ह्युमन प्यापिलोमा भाइरस) को सङ्क्रमणबाट हुने पाठेघर, मुख र लिङ्ग र रक्तक्यान्सरको स्क्रिनिङ गर्न सकिन्छ । यसअघि सारभाइकल क्यान्सरको नमूना पिसिआर ‘पोलिमर चेञ्ज रियाक्सन’को परीक्षण गर्न छिमेकी मुलुक भारत पठाउनुपर्ने अवस्था थियो ।
अस्पतालका कार्यकारी निर्देशक विजयचन्द्र आचार्यका अनुसार उपकरणले क्यान्सर अस्पतालको सेवालाई थप प्रभावकारी बनाउने छ । “डिएन बेसको परीक्षणको सेवा शुरुआत गरिसकेका छौँ,” उनले भने, “आरएनएन बेस जटिल भएकाले केही समयपछि मात्रै सेवा शुरु गर्छौं । यो उपकरणले क्यान्सरको उपचार तथा रोकथाममा विशेष सहयोग पुग्नेछ ।”
पाठेघर, मुख, लिङ्ग र रक्तक्यान्सर हुनुपूर्व एचपिभी डिएनए र आरएनएको स्क्रिनिङ गर्न सकिए क्यान्सरको निर्मूलीकरण र रोकथाम गर्न सकिने अस्पतालका प्याथोलोजी विभाग प्रमुख डा सुदिना श्रेष्ठले बताइन्उ।
उपकरणको प्रयोगले क्यान्सरको उपचार र रोकथामका क्षेत्रमा सहज हुने भएकाले क्यान्सरबाट हुने मृत्युदरमा कमी आउने उनले जानकारी दिइन्।
क्यान्सर रोगीमा भएको एचपिभीको मात्र समयमै पत्ता लगाई खोप दिन सके यसको निदान हुन सकिने उनले बताइन्। नेपालका ५० प्रतिशत क्यान्सर रोगीको उपचार गर्दै आइरहेको यस अस्पतालमा एचपिभी भाइरसबाट लाग्ने क्यान्सरका रोगीहरु ४० प्रतिशतभन्दा बढीले सेवा लिने गरेको अस्पतालको तथ्याङ्क छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।