राजविराज– सप्तरीमा सञ्चालित एसइई परीक्षा अमर्यादित रुपमा सञ्चालन भइरहेको पाइएको छ।
बिहीबार भएको विज्ञान विषयको प्रश्नपत्र परीक्षा सुरु हुनुपूर्व नै आउट भएको छ। परीक्षा सुरु हुने समय बिहान ८ बजेका लागि निर्धारण गरिए पनि ७:४७ मिनेटमै प्रश्नपत्र बाहिरिएको छ।
प्रश्नपत्र समाजिक सञ्जाल ‘फेसबुक’मा समेत पोष्ट भएका छन्।
परीक्षा सुरु हुनुपूर्व नै प्रश्न पत्र बाहिरिएको विषय सत्य भएको सप्तरीका सिडिओ तथा परीक्षा समन्वय समितिका संयोजक सुरेन्द्र पौडेलले बताए।
प्रश्नपत्र कसरी आउट भयो भन्ने विषयमा अनुसन्धान भइरहेको पौडेलले बताए।
यसअघि बुधबार साँझ पनि विज्ञान विषयको प्रश्न पत्र आउट भएको हल्ला चलेको थियो। विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्चालनमा प्रश्न पत्र पोष्ट भएका थिए। तर, साँझ आउट भएको भनिएको प्रश्न पत्र नक्कली भएको सिडिओ पौडेलको दाबी छ।
अर्कोतर्फ केन्द्राध्यक्ष, निरीक्षक र कर्मचारीसमेत परीक्षा अमर्यादित बनाउन लागि परेको बताइएको छ।
बुधबार मात्रै मावि बनरझुलाका केन्द्राध्यक्ष रामअवतार गुप्ता, सहायक केन्द्राध्यक्ष र निरीक्षकसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। चिट चोर्न सहयोग गरिरहेको पाइएपछि उनीहरूलाई पक्राउ गरिएको सप्तरीका एसपी राजेन्द्र विष्टले बताए।
परीक्षा केन्द्रबाट ८ जना परीक्षार्थी र १ दर्जन बढी मोबाइलसमेत नियन्त्रण गरिएको थियो। विद्यार्थीलाई बुधबारै छोडिएको छ।
बिहीबार मात्रै २ परीक्षार्थी र १० मोबाइल नियन्त्रण
बिहीबार विज्ञान विषयको परीक्षामा मोबाइल मार्फत चिट चोर्दै गरेका दुई जना परीक्षार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
विभिन्न परीक्षाकेन्द्र मार्फत १० थान मोबाइल समेत नियन्त्रणमा लिइएको एसपी विष्टले बताए।
सप्तरीमा यस वर्ष ८ हजार ६ सय १८ जना विद्यार्थी एसइईमा सहभागी छन्। परीक्षाका लागि ३३ वटा केन्द्र निर्धारण गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।