नयाँ दिल्ली– भारतमा निर्वाचनको सङ्घारमा प्रमुख प्रतिपक्षी भारतीय काङ्ग्रेस (काङ्ग्रेस–आई) का विभिन्न ६ सय ८७ फेसबुक पेज तथा एकाउन्ट हटाइएको फेसबुकले जानकारी गराएको छ।
विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले सोमबार आफ्नो कानुन उल्लङ्घन गरेको भनी कङ्ग्रेस–आई सम्बद्ध ती पेजहरू हटाएको हो।
भारतमा अप्रिल ११ गतेदेखि अप्रिल १९ सम्म आम निर्वाचन भइरहेको र ती नक्कली एकाउन्टबाट विरोधीहरूलाई होच्याउने, गाली गर्ने र झुठा प्रचार गर्ने खालका सामग्रीहरू सम्प्रेषित भएका भेटिएपछि सामाजिक सञ्जालका उक्त पेजहरू हटाइएको फेसबुकको दावी छ ।
“अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटिएपछि फेसबुकको नीति तथा नियमलाई उल्लङ्घन भएको निष्कर्षसहित उक्त दल आवद्ध मानिएका पेज, ग्रुप तथा एकाउन्टहरूलाई कम्पनीले हटाएको छ,” फेसबुक कम्पनीले भनेको छ।
फेसबुकका साइबर सुरक्षा नीति प्रमुख नेथेनियल ग्लेचरले सोमबार जारी विज्ञप्तिमा भनिएको छ, “हामीले भारतीय भूमिबाट प्रयोग गर्दै आएका भनिएका ६ सय ८७ पेज र एकाउन्टले अप्रमाणिक व्यवहार वा स्पामका लागि सहकार्य गरेको भेटेपछि तिनीहरूलाई हटाइदिएका छौँ।”
“यी गतिविधिमा सम्लग्न व्यक्तिले नक्कली एकाउन्ट खोली नियमविपरीत हुनेगरी विभिन्न समूह बनाई उनीहरूको सन्दर्भ सामग्रीलाई सम्प्रेषण गरेको हाम्रो स्वचालित प्रणालीले पत्ता लगाई उनीहरूलाई खारेज गरिदिएको छ।”
विश्वव्यापीरूपमा फैलिएको सामाजिक सञ्जाल फेसबुकमाथि भारत सरकार लगायत विश्वका सरकारी अधिकारीद्वारा फेसबुकको दुरूपयोग गरी राजनीतिक फाइदा उठाउने वा गलत सूचना फैलाउने काम नभएको प्रत्याभूत गर्न दवाव दिँदै आएका खबरहरू आउने गरेका छन्।
यसैबीच भारतीय काङ्ग्रेस पार्टीका नेता मनिस तेवारीले आफूहरूले वास्तविक रिपोर्टबारे अध्ययन गर्न बाँकी रहेको सञ्चारमाध्यमसँग बताएका छन्। सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।