काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कश्मिरको पहलगाममा हमला गर्ने आतकंकारीलाई पृथ्वीको छेउसम्म पुगेपनि नछोड्ने दाबी गरेका छन्।
आज बिहारको मधुबनीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्।
‘‘म सम्पूर्ण विश्वलाई भन्छु, भारतले प्रत्येक आतंककारी र उनीहरूका समर्थकहरूलाई पहिचान गर्नेछ, ट्र्याक गर्नेछ र दण्ड दिनेछ। हामी उनीहरूलाई पृथ्वीको छेउसम्म पुगेपनि पछ्याउनेछौं। आतंकवादले भारतको भावना कहिल्यै तोड्नेछैन। आतंकवाद दण्डित नभई रहनेछैन," उनले भने।
आफ्नो भाषण सुरु गर्नुअघि, प्रधानमन्त्री मोदीले जनतासँग मिलेर मंगलबार जम्मू कश्मीरमा मारिएका २६ जनालाई श्रद्धाञ्जली अर्पण गर्न एक मिनेट मौनधारण गरे।
बुधबार प्रधानमन्त्री मोदीले पहलगाममा भएको घातक आक्रमणलाई ध्यानमा राख्दै सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समितिको बैठकको अध्यक्षता गरेका थिए। उक्त आक्रमण स्थललाई 'मिनी स्विट्जरल्याण्ड' भनेर चिनिन्छ। बैठकपछि भारतले पाकिस्तान विरुद्ध कडा कदम चाल्ने घोषणा गरेको थियो, जसमा सिन्धु नदीको पानी बाँडफाँडलाई नियन्त्रित गर्ने सिन्धु जल सन्धि निलम्बन गर्ने समावेश छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।