बनेपा- प्रदेश सरकारअन्तर्गत कृषि ज्ञान केन्द्रमार्फत काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोकमा प्राप्त भएको बजेट खर्चको कार्यान्वयन मङ्गलबारदेखि सुरु भएको छ। अर्को आर्थिक वर्ष सुरु हुन ३ महिना बाँकी रहँदा कृषि ज्ञान केन्द्रअन्तर्गतको कृषि कार्यक्रमको योजनामा मङ्गलबार सम्झौता भएको हो।
प्रदेश सरकारबाट प्राप्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत पकेट र ब्लक गरी दुई प्रकारले बाली कार्यक्रम सम्झौता गरी कार्यान्वयनमा अगाडि बढेको केन्द्रका प्रमुख कृष्णबहादुर अधिकारीले बताए। उनका अनुसार दुई जिल्ला हेर्ने गरी स्थापना भएको कार्यालय कात्तिकबाट खुलेको हो। त्यसरी कार्यालय खुलेको भए पनि समयमै कार्यक्रमका लागि निश्चित गरेर बजेट नपठाएका कारण ढिला हुन गएको उनको भनाइ छ।
जसअन्तर्गत पहिलोपटक सुरु भएको कार्यक्रम कार्यान्वयन र परियोजनाअन्तर्गत पहिलादेखि सञ्चालन हुँदै आएको ३० पकेट र पछि थप भएको ७ गरी ३७ पकेट कार्यक्रम र दुई ब्लकको लागि कार्यक्रम सम्झौता गरेको केन्द्रका प्रमुख अधिकारीले बताए। पकेटमा तरकारी, मौरी, कफी, मकै र धान गरी विभिन्न थरिका बाली रहेको छ भने ब्लकमा ५ खालका तरकारी र नमोबुद्धमा मकै परेको उनको भनाइ छ।
यसैबीच कृषि सडकका लागि काभ्रेपलाञ्चोकमा ११ र सिन्धुपाल्चोकमा ९ गरी १९ आयोजना परेकामा ५ करोड ५३ लाख रुपैयाँ बजेट रहेको जनाएको छ। जसमा थाेरैमा ९ लाखदेखि धेरैमा ३७ लाख रुपैयाँसम्मको बजेट रहेको कार्यालय प्रमुख अधिकारीले बताए।
त्यससँगै पुष्पखेती गर्नका लागि परियोजना सञ्चालन हुने उनको भनाइ छ। त्यसका लागि पूँजीगतमा खर्च गर्ने गरी (खेतीमा प्रोत्साहन गर्नका लागि ग्रिनहाउस, टिपेको फूललाई सङ्कलन गर्ने, सिँचाइ र मेसिन गरी) बढीमा ७० प्रतिशत अनुदानको व्यवस्था गर्ने गरी कार्यक्रम तय भएकाे छ।
अर्गानिक खेती कार्यक्रमका लागि डेढ करोड रुपैयाँको कार्यक्रम सूचना निकालेर निवेदनउपर छानबिन गरी टुङ्ग्याउन बाँकी रहेको छ। त्यस्तै उच्च मूल्य वस्तु कार्यक्रमअन्तर्गत कार्यक्रम रहेको र जसमा स्ट्रवेरी, अलैँची, किबी, एभाेकाडोलगायतका छन्।
नमोबुद्ध नगरपालिकाका किसान हरि तिमल्सिनाले समूहमार्फत १० लाख रुपैयाँको कार्यक्रम सम्झौता गरेको बताए। 'छ सहकारी र पाँच समूह मिलेर गठन गरेको ब्लकका लागि परियोजना सम्झौता गरेका छौँ', तिमल्सिनाले भने, 'परेको रकमबाट ७ लाख रुपैयाँको मेसिन खरिद गर्ने र ३ लाख रुपैयाँको बीउ खरिद गरिनेछ।'
नमोबुद्ध नगरपालिकाको सबै वडा, पाँचखाल नगरपालिकाको ८ नं वडा र रोशी गाउँपालिकाको तीन वडालाई मिलाएर ब्लकको रुपमा स्थापना गरेको उनको भनाइ छ। सो परियोजनाअन्तर्गत २ हजार रोपनीमा मकै खेती हुने र जसबाट करिब ५ सय किसान लाभान्वित हुनेछन्।
पाँचखाल–३ का अर्का किसान नीरु नेपालले तरकारी पकेट कार्यक्रमका लागि सामूहिक रूपमा कार्यक्रम सम्झौता गरी विभिन्न जातका तरकारी खेती गर्न ५ लाख रुपैयाँको कार्यक्रम सम्झौता गरेको बताए। उनले सबैको फरक-फरक खालको माग आएपछि अब समूहगत रूपमा तरकारी खेती गर्ने गरी कार्यक्रम सञ्चालन हुने जानकारी दिए।
उता कोशीपारिस्थित चौरीदेउराली गाउँपालिका–६ का किसान जगनिधि चौलागाईंले कोशीपारि सामुदायिक कृषि पकेट क्षेत्रको नाममा दुई समूह मिलेर २ लाख रुपैयाँको योजना सम्झौता गरिएको छ। 'अब यसबाट हाते ट्र्याक्टर खरिद गरेर खेती गर्नेछौँ', उनले भने।
यसैगरी रैथाने बाली विकास कार्यक्रम भनेर कम खेती हुने निश्चित र जात र भूगोलमा हुने कार्यक्रमअन्तर्गत कोदो, फापर, जौ, चिनो, उवा, कागुनोलगायतका बाली विकासको कार्यक्रम हुने अधिकारीले बताए। त्यस्तै कृषि सडक, पुष्प खेती, अर्गानिक खेती, रैथाने बाली विकासलगायतका सबै शीर्षकमा गरी फागुन मसान्तसम्ममा ७ करोड ४१ लाख ५५ हजार ८ सय ९६ रुपैयाँ प्राप्त भएको कृषि ज्ञान केन्द्रले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।